कविताः गगन (अशोक शेरचन)

0
Shares

गगनको विशालतालाई
छोप्ने प्रयास गर्यौ किन
गगनको बिहंगमतालाई
नाप्ने प्रयास गर्यौ किन

जब कि,
तिमीलाई थाहा थियो
गगनलाई छोप्न सकिँदैन
तिमीलाई ज्ञान थियो
गगनलाई नाप्न सकिँदैन

तैपनि,
तिमीले व्यर्थै गगनलाई
छोपी छाड्ने अडी लिएर हिँड्यौ
गगनको विशालता पत्तै नपाई
नापी छाड्ने दुहाई दिएर हिँड्यौ

हेर त आज,
गगन तिम्रा लागि
अप्ठेरोको चिण्डो बनेको
नसक्छौ तिमी त्यसलाई टिप्न
न मान्न सक्छौ अरूले भनेको

अब त,
मेटिए होलान् भ्रम तिम्रा
गगनको विराटरूप देखेर
आइन्दा दुईचोटी सोच्ने गर
कुनै निष्कर्षमा पुग्दाखेर

किनकि,
गगनलाई तिम्रो हत्केलाले
छेकेर कहिल्यै छेकिँदैन
लाखौं तारा छातीबाट गगनको
झारेर कहिल्यै सकिँदैन ।

– अशाेक शेरचन

-प्रभु बैंक, प्रमुख कार्यकारी अधिकृत