पूर्वराजा राजधानी फर्किए

0
Shares

बाँके, (नेस)
पूर्वराजा ज्ञानेन्द्र शाह राजधानी फर्किएका छन् ।

दश दिन नेपालगञ्जमा बसेका पूर्वराजा ज्ञानेन्द्रसहितको राजपरिवारका सदस्यहरु शनिबार काठमाडौं फर्किएका हुन् । पूर्वयुवराज पारस शाह भने सुदूरपश्चिमको भ्रमणमा रहेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र, पूर्व रानी कोमल, नातिनीहरु साँझ साढे ६ बजेको श्री एयरलाइन्सबाट राजधानी फर्किएका छन् । पूर्वयुवराज्ञी हिमानी भने तीन बजे नै बुद्ध एयरबाट राजधानी फिर्ता भएकी छन् । नेपालगञ्जमा आउदा पनि हिमानी बुद्ध र पूर्वराजा रानी श्री एयरलाइन्समा आएका थिए ।

पूर्वराजा ज्ञानेन्द्रलाई राजाका समर्थकहरुले विमानस्थलमै गएर बिदाई गरेका छन् । पूर्वराजाको असार २३ गतेको जन्म दिनलाई भब्य बनाउन गठन गरिएको जन्मोत्सव मूल समारोह समितिका संयोजक दीपकबहादुर सिंहको टोलीले पूर्वराजालाई विमानस्थलमा बिदाई गरेको थियो ।

असार २० गते नेपालगञ्ज आएका पूर्वराजाले यसपाली सर्वसाधारणसँग भेटघाट गरेनन् । जन्म दिनको दिन दशदेखि सवा एक बजेसम्म सर्वसाधारणको बधाई र आशिर्वाद लिएका पूर्वराजाले त्यसपछि कसैसँग भेटघाट गरेनन् । जन्म दिनको दिन बिहान बागेश्वरी मन्दिरमा दर्शन गरेका पूर्वराजा ज्ञानेन्द्र त्यसपछि कतै निस्किएनन् ।

पूर्वराजाका समर्थकहरु होटलमा पुगेपनि भेट्न नपाएर फर्किने गरेका थिए । मूल समारोहका संयोजक सिंहले राजालाई समय नभएकाले सर्वसाधारणसँग भेटघाटको मौका नमिलेको बताउनुभयो ।

एकथरी राजावादीहरुले भने भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपालगञ्जमा आउने खुब हल्ला फिजाएका थिए ।

यसअघि पुस १३ गते नेपालगञ्ज आउदा पूर्वराजाले विभिन्न जिल्लाको भ्रमण गर्नुका साथै लखनऊमा पुगेर योगी आदित्यनाथसँग भेट गरेका थिए । त्यतिबेला पूर्वराजा नेपालगञ्जमा २२ दिन बसेका थिए ।