निःशुल्क महिला स्वास्थ्य शिविरमा ट्युमर राेगी भेटिए

0
Shares

नेपाल समाचारपत्र, लमजुङ
लमजुङमा सञ्चालन गरीएको निःशुल्क महिला स्वास्थय शिविरमा परीक्षण गर्न आएका ९० प्रतिशत महिलामा संक्रमण र आधा जसोमा ट्युमर देखिएको छ । सुन्दरबजार अस्पतालमा स्थानीय एभरेष्ट साकोसको आयोजनामा सञ्चालन गरीएको एकदिने निःशुल्क शिविरका २१५ जना महिलाको स्वास्थ्य परीक्षण गरीएको छ ।

अल्का अस्पताल जावलाखेल ललितपुरका वरिष्ठ स्त्रिरोग विशेषज्ञ नुतन शर्मा र डा. रञ्जना गिरीको ६ सदस्यीय चिकित्सक टोलीले शिविरमा सेवा दिएको एभेरेष्ट साकोसको सामाजिक परिचालन उपसमितिका सदस्य पार्वनी अधिकारीले बताउनु भयो ।

उहाँका अनुसार सो टोलीलाई सुन्दरबजार अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. स्नेहा ढकाल सहितको टोलीले शिविरमा सघाउने काम गरेका थिए । शिविरमा आएका महिलाको स्वास्थ्य परीक्षण पछि आवश्यकता अनुसार अल्का अस्पतालबाट निःशुल्क औषधि वितरण गरीएको एभरेष्ट साकोसका महिला परिचालन उपसमितिका संयोजक विद्यादेवी श्रेष्ठले बताउनु भयो ।

सो शिविरमा स्वास्थ्य परीक्षण गरीएका मध्ये एक सय तीन जनामा ट्युमर पलाएको आशंका गरीएको डा. नुतन शर्माले बताउनु भयो । उहाँका अनुसार स्वास्थ्य परीक्षणमा शिविरमा आएका मध्ये अधिकांशको पाठेघरमा कुनै न कुनै प्रकारको संक्रमण रहेको देखिएको हुँदा औषधि दिइएको छ । त्यसले सुधार भएन भने अल्का अस्पलात आउन सल्लाह दिइएको डा. शर्माले जानकारी दिनु भयो ।

८५ वर्षकी बृद्ध स्वास्थ्य– उक्त शिविरमा स्वास्थ्य परीक्षणका लागि आउनु भएकी सुन्दरबजार नगरपालिका– ७ निवासी ८५ वर्षीय दिलमाया गुरुङ स्वस्थ्य हुनु भएको परीक्षणमा क्रममा देखिएको डा. रञ्जना गिरीले बताउनु भयो । उहाँका अनुसार यो उमेरमा पनि यति स्वास्थ्य हुनु राम्रो हो ।

‘तँलाई ठीक छ भनेर मलाई त केही पनि दिइन औषधि पनि खान पर्दैन भन्यो’ चार छोराछोरीकी आमा दिलमाया गुरुङले बताउनु भयो । उहाँले भन्नु भयो डाक्टरले भने पछि पत्याउनै प¥यो, अरू तरुनीहरूलाई त औषधि दिएको छ म बुढीलाई दिइन’ उहाँले भन्नुभयो ।

उक्त शिविरमा स्वास्थ्य परीक्षणका लागि आउनु भएकी सोही वडा निवासी २ बच्चाकी आमा ३१ वर्षीय ऋतु सुनारले आफूलाई औषधि दिएको र एकमहिना पछि काठमाडौँ आउन भनेका छन् भन्नुभयो ।

शिविर निकै राम्रो लाग्यो, हामी धेरै दिदी बहिनी खुसी छौँ, यस्तो शिविर बेला बेलामा ल्याउने काम गरी राख्नु प¥यो सोही वडाकी ३४ वर्षीय संगीता गौलीले बताउनु भयो ।

सुन्दरबजार नगरपालिकाका मेयर जनक मिश्रले उक्त शिविरको उदघाटन गर्दै महिलाका लागि अतिनै आवश्यक यस्तो शिविर अबका दिनमा हरेक वर्ष निरन्तरता दिने बताउनु भयो । उहाँले सबल, बलिया, निरोगीहरूले दुर्वल, असहाय, रोगीहरूको सेवामा आफूलाई समर्पित गर्न सक्यौ भने त्यो भन्दा ठूलो धर्म अर्को नहुने बताउनु भयो ।

एभरेष्ट साकोसका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतामा भएको उदघाटन समारोहमा सुन्दरबजार नगरपालिका– ७ का वडाध्यक्ष जयराम रेग्मी, अल्का अस्पतालका प्रशासन प्रमुख रोजी प्रधानले शुभकामना व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा सुन्दरबजार अस्पताल सञ्चालक समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले अस्पतालमा २४सै घण्टा सेवा सञ्चालन, एम्बुलेन्स सेवा सहितका विभिन्न सेवाका लागि आफूहरू जुटिरहेको जानकारी दिनु भयो । उहाँले शिविरमा नगरपालिकाले समेत सहयोग गरेको जानकारी दिनु भयो ।