जोखिमयुक्त अर्चलेबासीको दलित बस्ती एकिकृत आवासमा सारिने

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।
जोखिममा रहेको पर्वतको फलेवास नगरपालिका वडा न ८ मा पर्ने अर्चलेको दलित बस्तीलाई नजिककै एकिकृत बस्ती निर्माण गरिने भएको छ ।

राष्ट्रिय पूननिर्माण प्राधिकरणको सहयोगमा अर्चलेका १२ घरलाई नजिकै छतिवन टारीमा एकिकृत बस्ती निर्माण गरि स्थानान्तरण गर्ने तयारी भएको हो ।

पहिरोको उच्च जोखिममा रहेको बस्तीका १७ घर भूकम्पमा पुर्ण क्षति भएका थिए भने अन्य ३ घर समेत जोखिममा रहेका कारण बस्ती स्थानान्तरण गर्न लागिएको राष्ट्रिय पूननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई पर्वतले जानकारी दिएको छ ।

भूगर्भबिद्ले अर्चलेको उक्त दलित बस्ती उच्च जोखिमयुक्त भएकाले स्थानान्तरण गर्न सुझाब दिएका थिए । जोखिममा रहेका १२ घरले छतिवनको टारीमा एकिकृत आवासमा बस्नका २७ रोपनी जमिन सामुहिक रुपमा खरिद गरेका छन ।
‘सामुहिक जमिन खरिद गरिएको स्थानमा एकिकृत आवास बनाउने प्रकृया छिट्टै शुरु हुन्छ’ जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख जगदिश शर्माले भने ‘एकिकृत बस्तीमा बस्न नचाहनेहरुका लागि पनि सुरक्षित स्थानमा जमिन लिएर आवास बनाउने प्रकृया थालेका छौ’

एकिकृत बस्तीमा प्राधिकरणले जमिन खरिद गरिदिने र सडक, बिद्युत र खानेपानीको न्युनतम आवश्यकता समेत पुरा गर्ने भएको छ । स्थानियस्तरमा न्युनतम आवश्यक पर्ने सडक, बत्ती र खानेपानी जस्ता पुर्वाधार पनि संगसंगै निर्माण हुने आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

विश्वकर्मा समुदायको वसोवास रहेको उक्त वस्तीमा २१ घर छन । एक जना प्रेमबहादुर बिश्वकर्मा बाहेक २० घर स्थानान्तरण गर्नुपर्ने भूगबिद्धहरुको सिफारिस अनुसार गएको फागुनमा राष्ट्रिय पुननिर्माण प्राधिकरणको कार्यकारी समितिले वस्ती स्थानान्तरण गर्ने निर्णय गरेको प्राधिकरणका अनुगमन तथा मुल्याँकन बिज्ञ डा. योगेन्द्र रिजालले जानकारी दिनुभयो ।

बस्ती सार्नुपर्ने अवस्थामा केही घरधनीको अन्यत्र सुरक्षित स्थानमा आफ्नै जमिन भएका कारण उनीहरुका लागि प्राधिकरणले जमिन खरिद गरेको छैन । जमिन खरिद गर्ने सुचीमा परेका १७ परिवार मध्ये ५ परिवारले फलेबास नपा ९ मा पर्ने बिरुवारी लगायत नजिकका स्थानमा जमिन खरिद गरेर भवन निर्माण गर्ने भएका छन ।