व्यक्तिवृत्त: इतिहासका विम्ब दिनेशराज पन्त



-मोहन दुवाल
निरन्तर यात्रामा कुदिरहन गाह्रो तर कुदिरहन सके एउटा सुन्दर विम्बचाहिँ बन्दो रहेछ । इतिहास खोजिरहने प्रमाण–प्रमेय कता छ नियालिरहने इतिहासकार नयराज पन्तले आफ्ना दुबै छोरा महेशराज र दिनेशराजलाई पनि आफूजस्तै इतिहासकार बनाइछाडे । डा. महेशराज पन्तको आफ्नै पनको इतिहास–पृष्ठ भएजस्तै कान्छा छोरा दिनेशराज पन्तको पनि आफ्नै पनको इतिहास पृष्ठ बनिसकेको छ ।

प्रसिद्ध विद्वान् इतिहासकार पं. नयराज पन्त तथा बोधकुमारी पन्तका छोरा भई जन्मेका दिनेशराज पन्तले आफू ५ वर्षको छँदा नै मातृवियोग सहन बाध्य भए । तर पनि विद्वत् परिवारमा जन्मेका कारणले धेरै कष्टसाध्य जीवन गुजारेर पनि सफल इतिहासकार बनी छाडे । आफ्नै बाबुको कडा अनुशासनमा रहेर, बाबुकै पथप्रदर्शनमा लागेर निरन्तर इतिहास खोजिरहन सफल दिनेशराजले इतिहास, लिपि अभिलेख, गणनाका असंख्य कामहरु सुन्दर ढंगले गरेर देखाएका छन् ।

त्यति मात्र नभईकन संशोधन मण्डलमा रहेर इतिहासका प्रमाण र प्रमेयहरु खोज्न निरन्तर लागिरहेका छन् । इतिहासकै प्रसिद्ध पत्रिका पूर्णिमाको सम्पादक रहेर आफ्नै बुबाको बिँडो थाम्न इतिहासका सुन्दर पृष्ठहरु लिपिबद्ध गर्न सक्षम र सफल छन् ।

दौरा–सुरुवाल, इस्टकोट र भादगाउँले टोपीमा सजिएर, हातमा कालो ब्याग झुन्ड्याएर, कालो चश्माभित्र दुईवटा खोजी अनुसन्धान गरिरहने आँखाहरु सजाएर निरन्तर इतिहासकै खोजीमा लागिरहने इतिहासकार दिनेशराजको जन्म वि.सं. २००६ कार्तिक ३ गते काठमाडौंस्थित वटु, सबलबहालमा भएको हो । पछि एकान्तकुना, जावलाखेलमा बसोबास गर्दै आएका यिनी हाल धुम्बाराहीमा बसोबास गर्छन् ।

सम्मानित इतिहासकार नयराज पन्त ज्यूदो छँदा दैनिकरुपमा भएका घटना, घरमा आएका अतिथिहरुको परिचय संस्कृत भाषामा ठूलो–ठूलो स्वरले कानमा फुकेर सुनाउने गर्छन् । श्रीमती माला पन्तको सहयोग र माया पाएर मनस्वी, यशस्वी र तेजस्वी नाम गरेका छोराहरु हुर्काउँदै, बढाउँदै आफ्नो यात्रामा लागिरहेका दिनेशराज पन्तले सत्य कुरा बोलेर नै जीवन बिताउन पाएकोमा गौरव मान्छन् र मृत्युपर्यन्तसम्म पनि त्यही कुरामा अड्न सकियोस् भन्ने आफ्नो इच्छा जाहेर गर्छन् । दिनेशराजले आफू १० वर्षको छँदा नै संस्कृत भाषामा कविता लेखेर सबैलाई चकित तुल्याएका हुन् ।

इतिहास लेखन, अध्ययन र इतिहासकै खोजीमा जुट्न पिताजीबाट प्रेरणा पाएका यिनी इतिहासलाई यसरी परिभाषित गर्न रुचाउँछन्– ‘थाहा पाएका कुरा प्रमाणसाथ बोल्नु र थाहा नपाएका कुरालाई थाहा छैन भन्दा नै सत्य इतिहास बाहिर आउँछ, इतिहासको साँचो परिभाषा पनि त्यही हो ।’ सत्यतथ्य कुरालाई इतिहासमा लुकाइदिँदा देश र जनतालाई भ्रम बाँड्ने काम मात्र हुन्छ, त्यसैले सत्यतथ्य कुरालाई निर्भिकतापूर्वक बाहिर ल्याउनुपर्छ अनि मात्र भावी पिँढीले सुख पाउँछ, उनको स्वीकारोक्ति छ ।

आफ्नै पिता नयराज पन्तपछि इतिहासकार बाबुराम आचार्य मन परेको यिनलाई विदेशी इतिहासकारहरुमध्ये सिल्भा लेभी मन परेको बताउँछन् । यिनका कृतिहरुमा नेपालको इतिहासका केही पाना, लिच्छविकालमा चलेका संवत्, गोरखाको इतिहास, बुद्धदेखि पहलमानसम्म, इतिहासका कुरा (भाग १ देखि ४ सम्म १३०० पृष्ठको) र राजीवलोचन जोशीका बराजु दामोदर जोशी प्रकाशित छन् ।

यसै गरी श्री ५ पृथ्वीनारायण शाहको विषयमा केही कुरा, श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिव्योपदेश, धादिङमा फेला परेको नेपाली कविता, श्री ५ त्रिभुवनको राज्यारोहण, संक्षिप्त वंशावली आदि गहन अनुसन्धात्मक इतिहासका खोज–ग्रन्थहरु प्रकाशित गराएका छन् ।

त्यस्तै यिनले अरु मित्रहरुको सहयोगमा श्री ५ पृथ्वीनारायण शाहको उपदेश, वृत्तशतक (मूहुर्त ग्रन्थ), सुमतितन्त्र (प्रथम भाग), कालचक्रको ज्योतिष भाग र त्यसको विवेचना (प्रथम भाग), संस्कृत विद्वत्सम्मेलन संस्मरण ग्रन्थ (प्रथम भाग), नेपाली लिपिको समीक्षात्मक अध्ययन (अंग्रेजी), नेपालको इतिहासका विविध पक्ष आदि महत्वपूर्ण ग्रन्थहरु प्रकाशित गरेका छन् । साथै ४ सय जति फुटकर इतिहासका लेखरचना सार्वजनिक गरेका छन् ।

यिनी आफ्नो व्यावहारिक जीवन सपार्नुभन्दा इष्टमित्र, साथीभाइको व्यावहारिक जीवन सपार्न केही मद्दत गर्न सक्दा आनन्द मान्छन् । सामान्यतया बिहान ४ः४५ देखि ५ः१५ भित्रमा उठिसक्ने यिनी बेलुका ९ः३० देखि १०ः०० बजेभित्र सुतिसक्छन् । कुनै पनि कुरामा लुकिछिपी नगर्ने, स्पष्ट भन्ने, अरुको रिसराग नगर्ने, खालि नबस्ने, सानो–ठूलो काममा निरन्तर लागिरहने मान्छेहरु मन पर्ने स्वभाव छ यिनको ।

पिताजी नयराज पन्तबाट विधा, प्रेम र विद्याबाट मात्र सम्पूर्ण सिद्धि हुन्छ भन्ने भावना सिकेका यिनले आफ्नै ठूली आमाकी पति मास्टर मेरुनाथ पाँडेबाट अनुशासन सिकेका हुन् भने दाजु डा. महेशराज पन्तबाट पनि धेरै कुराको ज्ञान प्राप्त गरेका हुन् ।

दिनेशराज पन्तले जीवनका क्षणहरुमा थुप्रै अनुभव बटुलिसकेका छन् । पछि यिनी वाल्मीकि क्याम्पसमा प्रोफेसर भएर, थुप्र्रै इतिहासँग सम्बन्धित ठाउँ र क्षेत्रमा रमेर इतिहासकै खोजीमा समर्पित भएको देखिन्छ । हाल यिनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य पनि हुन् ।

इतिहासकारका रुपमा गोरखा दक्षिणबाहु पदक प्राप्त गरिसकेका यिनलाई राष्ट्रिय प्रतिभा पुरस्कार दिएर पनि सम्मान गरिसकिएको छ । पन्तले बिर्सन नसकिने दुःखद क्षणका रुपमा यस घटनालाई उल्लेख गर्ने गर्छन्– ‘वि.सं. २०२३ सालमा पिताजीले जाँच लिँदा दुईजना विद्यार्थी अनुत्तीर्ण भएका थिए ।

ती दुबै विद्यार्थी क्रमशः प्रथम श्रेणी र द्वितीय श्रेणीमा उत्तीर्ण गराइए । त्यस विषयको उजुरी गर्न पिताजीले मलाई लिई कीर्तिपुरमा रहेको रजिस्टारको कार्यालयमा जानुभयो । पिताजीले स्वाँस्वाँ–फ्वाँ–फ्वाँ गरी भन्नुभएको कुरालाई तत्कालीन रजिस्टार डा. त्रैलोक्यनाथ उप्रेतीले यस्ता कुरा त हरेक विभागमा भइरहन्छन्, यस्ता मामुली कुरामा गुरुले किन चिन्ता गर्नुपर्ने भनी त्यति महत्वपूर्ण कुरालाई उडाइदिएको सुन्दा म स्तब्ध भएको थिएँ ।

जानी वा नजानी जीवनभर विद्याकै क्षेत्रमा लागिरहेको मजस्तो व्यक्तिलाई अहिलेसम्मको जीवनयात्रामा त्यसभन्दा बढी दुःखको क्षण आएको छैन, भविष्यको कुरो त भविष्यकै गर्भमा छ ।’

इतिहासको खोजीमा, स्वत्वको रक्षा गर्ने अभियानमा यिनी सत्कर्म साँचेर हिँडिरहेको देख्छु । इतिहासकार नयराज पन्तको इतिहासभित्रको इतिहासमा रम्न जानेका उनकै सुपुत्र दिनेशराज पन्त नेपालको इतिहास पृष्ठमा पनि अनौठा लाग्दा इतिहासका विद्वान् हुन् ।

ऐतिहासिक पूर्णिमाका सम्पादक रहेका यिनले थुप्रै पत्रिका, ग्रन्थ र पुस्तकको सम्पादन पनि गरेका छन् । १० वर्षको उमेरमा नै पृथ्वीनारायण शाह (पद्यसंस्कृत, जयतु संस्कृतम्–२०१६) मा प्रकाशित गराएर देखा परेका विलक्षण प्रतिभाका उल्लेखयोग्य नाम हुन् दिनेशराज पन्त । आफूलाई डाकेको सभा–समारोहमा पुगिरहने, बोल्नुपर्ने कुरामा मोलाहिजा नै नगरी आफ्नो विचार प्रस्तुत गर्न नडराउने यिनको स्वभाव आफ्नै बुबाले सिकाएर र छोडेर गएका स्वभाव र सिर्जनाहरु हुन् ।

इतिहास र साहित्य लेखन बुबाकै प्रेरणाले सिक्न पाएका यिनले संस्कृत र इतिहासको पनि उच्च अध्ययन गर्न पाएका छन् । थुप्रै संघसंस्था, स्कुल–कलेज, सरकारी निकाय तथा प्रतिष्ठानहरुबाट पुरस्कार, पदक, सम्मान प्राप्त गरिसकेका यिनी वाल्मीकि क्याम्पसका प्राध्यापक पनि हुन् ।

यिनी लुम्बिनी विकास समितिमा रहेर त्रिविवि अन्तर्गतको कानुनी इन्स्टिच्युटमा सेवा पु¥याएर, नेपाली इतिहास संस्कृतिका व्याख्याता भएर थुप्रै शैक्षिक, ऐतिहासिक, भाषिक संघसंस्थामा सक्रियतापूर्वक आफूलाई सेवामा लगाउन पाउँदा दंग छन् । ‘सक्दो गर्नु नै हो जीवन’ यिनी भन्ने गर्छन् । यस्तै खालका भावधारा मनमा साँचेर यिनी इतिहास, संस्कृति र जनजीवनमा आफूलाई समर्पित तुल्याउँदै आएका छन् । यिनी सत्यको पक्षमा आफ्नो विचार दृष्टि पोखिरहन सधैँ प्रयत्नरत रहेको देखिन्छ ।

इतिहास लेखन भनेको प्रशस्ती लेख्नु होइन, इतिहास भनेको त तथ्य र प्रमाणकै आधारमा भएको इतिवृत्तान्त सिलसिलाबद्ध गरी लिपिबद्ध गर्नु हो । यस्तै खालका भावनामा उनी निरन्तर तीखो आँखा बाकेर कुदिरहेका देखिन्छन् । यिनी स्वाभिमान मनमा राखेर, आँखाले इतिहास साँचेर कुदिरहन खोज्ने एक चर्चित इतिहासकार हुन् । मनमा लागेका कुराहरु यिनी स्पष्ट बोल्छन् । यिनी चाप्लुसी गर्न कम जान्दछन् ।

अस्ति मात्रै २०७५ असार ८ गते श्रीहरि फुयाँलको अभिनन्दन ग्रन्थ सार्वजनिक समारोह सम्माननीय उपराष्ट्रपतिको सभाकक्षमा भएको कार्यक्रममा यिनले आफ्नो स्वाभिमानी विचार राख्दै उपराष्ट्रपतिलाई औंल्याएर भने– ‘गणतन्त्रका पदाधिकारीहरुले राजाकै नक्कल गरेर आफूलाई प्रस्तुत गर्नुहुँदैन । नेपाली हुनाको पहिचान आफूले छोड्नुहुँदैन ।’ यस्तै तीतो सत्यका पर्याय बनिरहन सकून्, शुभकामना छ ।

प्रतिक्रिया दिनुहोस्