नवाज र मरियमलाई फर्कँदा भब्य र्याली निकाल्ने तयारी


लाहौर (एजेन्सी)
पाकिस्तानको पीएमएल–एन प्रमुखले आफनो दाजु तथा पुर्व प्रधानमन्त्री नवाज सरिफ र भतिजी मरियम सरिफ पाकिस्तान फर्कँदा उनीहरुको स्वागतमा लाहौर विमानस्थलमा र्यालीको आयोजना गर्ने बताएका छन् ।

शुक्रबार नवाज र मरियम लाहौर फर्कदै छन् । यसबीच उनीहरुलाई लाहौर विमानस्थलमा नै गिरफ्तार गरिने र हेलिकप्टरबाट इस्लामाबाद ल्याइने बताइएकोछ ।

पीएमएल–एन प्रवक्ता मरियम औरंगजेबले एक पत्रकार सम्मेलनमा नजाज र मरियमको ऐतिहासिक स्वागत गर्ने तयारी भइरहेको जानकारी दिएको डन न्युजले जनाएको छ । जुलाइ १३ मा शहबाज सरीफले उक्त र्यालीको नेतृत्व गर्नेछ । मरियम औरंगजेबले जुलाइ १३ को र्याली जुलाइ २५ मा हुने चुनावको झलक हुने बताए ।

प्रवक्ताले भने– हजारौं नागरिक लाहौरमा नवाज र मरिमयमको स्वागत गर्नका लागि जम्मा हुनेछ । यो एक शान्तिपुर्ण र्याली हुनेछ ।

पीएमएल–एनको तयारीभन्दा फरक पाकिस्तान प्रशासनले नजाज र मरियमलाई विमानस्थलमा गिरफ्तार गर्ने तयारी गरिरहेको छ । एक आधिकारीक सुत्रलाई उदृत गर्दै डन न्युजले नवाज र मरियमलाई लाहौरको अल्लामा इकबाल अन्तराष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरिने र नेसनल अकाउन्टेबिलिटी ब्युरोलाई सुम्पिने जनाएको छ ।

यो फैसला गृह सचिव युसुफ नसिम खोखरको अध्यक्षतामा भएको उच्च स्तरिय बैठकमा लिएको जनाइएको छ ।

गत शुक्रबार पाकिस्तानको एक अदालतले नवाज सरिफलाई भ्रष्टाचारको मामिलामा १० बर्षको जेल सजायँ सुनाएको थियो । त्यसैगरी मरियम नवाजलाई पनि ७ बर्षको सजायँ सुनाइएकोछ । नवाज आफनी विरामी पत्नीको रेखदेखका लागि हाल लन्डनमा छन् । उनी आफनी छोरी मरियमसँग शुक्रबार पाकिस्तान फर्कन लागेको बताइएको छ ।