कुश्माको पानी वर्षायाममा पनि स्वस्थकर



दुर्गाप्रसाद शर्मा, पर्वत ।

कुश्माबजारमा वितरित खानेपानी वर्षायाममा पनि स्वस्थ्यकर भएको पाइएको छ । विगतका समयमा बाढी पहिरो र बर्षाका कारण समस्या देखिदै आएको कुश्मामा वितरण हुने खानेपानीमा यस बर्ष भने बर्षायाममा पनि गुणस्तरीय पानी वितरण भइरहेको हो ।

कुश्मा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले लाखौँ रुपैँयाको प्रविधि खरिद गरेर पानी परिक्षण गरी खानेपानी वितरण गर्दै आएपछि गुणस्तरीय खानेपानी प्रदान गर्न सक्षम भएको हो ।

हालै क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय पानी परिक्षण प्रयोगशाला पोखराबाट आएको प्राविधिक टोलीले बर्षाको याममा पनि जिवाणु रहित र गुणस्तरीय पानी वितरण भइरहेको प्रमाणित गरेको हो ।

प्रयोगशालाका क्यामिष्ट प्रकाशचन्द्र सुवेदीले कुश्मा बजारका लागि वितरण भइरहेको पानी स्वास्थ्यका लागि योग्य रहेको बताए । ‘पानीको गुणस्तर खस्किने भनेको बर्षायाममा नै हो, यो समयमा पनि कुश्मा खानेपानीको गुणस्तरमा कुनै समस्या छैन’ उनले भने ।

साना सहरी आयोजनाको सहयोगमा पानी परिक्षण केन्द्र स्थापना भएपनि आवश्यक उपकरण नहुँदा कुश्मा खानेपानीले उपभोक्ताहरुलाई गुणस्तरीय खानेपानी प्रदान गर्नकै लागि करिव ५ लाखको लागतमा प्रयोगशाला सामग्री खरिद गरेको संस्थाका अध्यक्ष बाबुराम जोशीले बताए ।

साना शहरी खानेपानी आयोजनाका कन्सल्टेण्ट केशव विष्टले पानीको परिक्षण गर्दै बर्षायाममा कुनै बेला धमिलो पानी पनि आउन सक्ने भएकोले क्लोरिन मिसावट पानी वितरण गरेर उपभोक्तालाई प्रदान गर्न सुझाव दिएका थिए । क्लोरिन मिसावट पानी स्वादमा केही फरक भएपनि स्वस्थकर हुने उनको भनाई थियो ।

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पर्वतका प्रमुख प्रेमप्रसाद डोटेलले खानेपानीकै कारण झाडापखला, हैजा जस्ता रोगहरु उत्पन्न हुने र उपभोक्ताहरुले पनि खानेपानी वितरण गर्ने निकायलाई भन्दा आफ्ना घरमा रहेका रिजर्भ ट्याङकीहरु समयानुकुल सफा गर्नुपर्ने बताएका थिए । उनले उपभोक्ता सचेतनाका लागि खानेपानी वितरक संस्थाले सचेतना दिलाउनुपर्ने सुझाव समेत दिए ।

कुश्मा खानेपानी संस्थामा कार्यरत सव इञ्जिनियर प्रतिक्षा अर्यालले खानेपानीको गुणस्तर मापनका लागि दैनिक पाक्षिक र मासिक रुपमा परिक्षण गरिदै आएको बताउँदै खानेपानीमा कुनै समस्या नरहेको र बाढी पहिरोका कारण समस्या देखिएमा सूचना मार्फत उपभोक्तालाई सचेत गराउँदै आएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्