प्रदेश–३ को नाम नेवाः ताम्सालिङ राख्न माग



नेपाल समाचारपत्र, हेटौंडा
प्रदेश–३ को नाम नेवाः ताम्सालिङ राख्न माग गरिएको छ । प्रदेशको नामाकरण र स्थायी राजधानीको विषयलाई पुनः ब्युँताइएको हो । प्रदेशसभाले गर्ने निर्णयमा बढी विवाद नगर्ने भनेर अवस्थालाई केही साम्य पारिए पनि प्रदेश नामाकरण र स्थायी राजधानीका विषयले पुनः चर्चा पाएको हो ।

नेपाल तामाङ घेदुङ संघ प्रदेश कमिटीको आयोजनामा ‘संघीयता कार्यान्वयन र तामाङ पहिचान विषयक’ हेटौंडामा आयोजित कार्यक्रममा प्रदेशको नामाकरण नेवाः ताम्सालिङ राख्न माग गरिएको हो ।

प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख, मन्त्रीहरु, सांसद्हरु राखेर आफ्ना एजेण्डा स्थापति गर्न कार्यक्रम गरिएको हो । सात वटै प्रदेशमध्ये ३ नम्बरमा मात्र तामाङ र नेवार जातिको धेरै बसोबास रहेकाले प्रदेशको नामाकरण गर्दा ध्यान दिन नेपाल तामाङ घेदुङ संघ प्रदेश अध्यक्ष सोम बल तामाङले आग्रह गर्नुभयो ।

उक्त नामाकरणबाट द्वन्द्व मेटिने र पहिचान भेटिने तथा वहुपहिचानको मुद्धा समेटिने भएकाले यसमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । तामाङ समुदायले मान्दै आएको सोनाम ल्होसारका अवसरमा ३ दिन सार्वजनिक बिदा दिन माग गर्दै वौद्ध धार्मिक करिडोर घोषणा गर्न माग गरिएको छ ।

प्रदेशका १३ वटै जिल्ला समेट्ने गरी प्रदेश सरकारले निर्माण गर्न लागेको चक्रपथलाई आफ्नो जातिअनुसार ताम्सालिङ चक्रपथका रुपमा निर्माण गर्न उनीहरुले माग गरे ।

प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नाराभित्र सबै पर्ने भएकाले जातजातिबाट माथि उठ्न आग्रह गर्नुभयो । उक्त नारामा कुनै जातजाति, ब्यक्ति, समुदाय भन्दा पनि तीन करोड नेपाली अट्ने भएकाले नाराअनुसार काम गरिने उहाँले बताउनुभयो ।

अब निश्चित जातिभन्दा उत्पीडित जाति र वर्गका निम्ति काम गरिने बताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो–अब जातिविशेष भन्दा पनि वर्गविशेषलाई ध्यान दिएर काम गर्नपर्छ । देशका खानै नपुग्ने व्राह्मण समुदाय पनि छन् । ठूला धनी तामाङ समुदाय पनि छन् । त्यसैले वर्गविशेषमा रहेर काम गरिनु आवश्यक छ । जातीय भन्दा पनि वर्गीय राजनीति गर्ने बेला आएको उहाँको भनाइ छ ।

प्रदेश–३ मा तामाङ र नेवार समुदायको बाहुल्यता भएको विषयलाई स्वीकार्दै मुख्यमन्त्री पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल र प्रदेशका मुख्य प्रतिपक्षी संसदीय दल नेता इन्द्रबहादुर बानियाँले प्रदेश नामाकरण ‘नेवाः ताम्सालिङ’ राख्ने विषयमा आफूहरु सकारात्मक रहेको बताउनुभयो ।

प्रदेश सभामुख सानुकुमार श्रेष्ठले अबको समयमा जातजातिका कुरा गरेर नहुने बताउनुभयो । अहिलेको समयमा सबैसँग प्रतिस्पर्धा गरेरमात्र अगाडि बढ्न सकिने भन्दै उहाँले नमूना प्रदेश बनाउन सबैले महत्वपूर्ण काम गर्नुपर्र्ने बताउनुभयो । सभामुख श्रेष्ठले जातजातिका कुरा गर्ने र सम्प्रदायिकता भड्काउनु भन्दा खुला प्रतिस्पर्धामा आउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला ताथ कानुन मन्त्री जम्कट्टेलले तामाङ समुदायका माग पूरा गर्न तयार रहेको बताउनुभयो । आफूहरुले पहिलेदेखि भन्दै आएको उत्पीडित वर्ग र जातिका समस्या समेट्न तयार रहेको उहाँको भनाइ थियो ।

उपसभामुख राधिका तामाङले नामाकरणप्रति आफू सकारात्मक भएको बताउनुभयो । प्रदेश राजधानी र नामाकरणका विषयमा सकारात्मक रहे पनि प्रदेशसभाले निर्णय गर्ने भन्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले घुमाउरो विचार राख्नुभयो ।

पूर्वऊर्जा मन्त्री सूर्यमान दोङले पहिचानका मुद्धा उठाउँदै कम्युनिष्ट पार्टीहरुले आन्दोलन गरेर संविधान निर्माण गरेको र बिगतका दिनमा सँगै बन्दुक किनेर लडाईं लडेको कुरा स्मरण गर्दै त्यही पहिचानलाई दबाउन खोजे पुनः जनताले बन्दुक किनेर आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्