धार्मिक पर्यटकीय गन्तब्य बन्दै मौलाकालिका मन्दिर



कृष्ण आचार्य, नवलपुर
चितवन र नवलपुरको फाँटमा बसेकाहरुलाई केही क्षण भएपनि शान्त र आध्यात्मिक आनन्द लिन जाने नजिकको गन्तब्यका रुपमा मौलाकालिका मन्दिर प्रख्यात बन्दै गएको छ । ’मर्निङ वाक’ गर्नेदेखी मन्दिर दर्शन गर्ने तिर्थालुको दैनिकजसो भिडनै लाग्ने गरेको छ ।

एतिहाँसिक र धार्मिक महत्व बोकेको मौलाकालिका मन्दिरमा दैनिकजसो भक्तजनको घुँइचो लाग्छ । पूर्व–पश्चिम राजमार्गमा पश्चिम बुटवलतर्फ नारायणी नदीको पुल पार गर्ने बित्तिकै नवलपरासी सुरु हुन्छ । पाँच सय मिटर अगाडि बढेपछि दायाँ जाने पिच सडक छ । त्यो बाटो छिचोल्दै करिब दुई किलोमिटर पर पुगेपछि सवारी साधनले विश्राम पाउँछ ।

तनहुँको दमौलीबाट मन्दिरको दर्शनका लागि आएका राजु खड्काले मन्दिरमा आएपछि छुट्टै आनन्द र शान्तिको महशुस भएको अनुभव सुनाए । उनले मौलाकालिकाबाट देखिने पवित्र देवघाट धाम, कलकल बगेकी नारायणी, सुन्दर नारायणगढ बजार र अर्कोतर्फ गैंडाकोटका सुन्दर फाँटले सबैको मन लोभ्याउने बताए । एकपटक आउने जो कोही पनि अर्को पटक मन्दिर आएर छाड्ने उनको भनाई छ ।

२०५३ सालमा बनेको मन्दिरको १५ सय ७५ देखिको इतिहाँस छ । सातामा करिब १५ हजारले मन्दिरको दर्शन गर्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाले जानकारी दिए । बर्षेनी १० प्रतिशतले भक्तजनको बढेको उनको दाबी छ ।

नवलपरासी, चितवन, मकवानपुर, धादिङ, तनहुँ लगाएतका जिल्ला र भारतका बिभिन्न स्थानबाट दर्शनका लागी भक्तजनहरु आउने गरेको सापकोटाले बताए । मन्दिर आउने पर्यटक मध्य पाँच प्रतिशत पर्यटक भारतीय रहेको उनको भनाई छ ।

फेदिदेखी करिब १७ सय खुड्किला ४० मिनेट उकालो चढे मौलाकालिका मन्दिर पुगिन्छ । उकालोमा ढुंगे सिँढी राखिएको छ भने बाटोमा गणेश मन्दिर, सालको जंगल र ठाउँ–ठाँउमा चौतारी छन् । प्यास लागे पानी पिउन धारा छन् । चारैतर्फको मनमोहक दृश्यले उकालो चढेको पत्तै पाइँदैन भने थकान आफैं कम हुन्छ । गैडाकोट नगरपालिका वडानम्बर अवस्थित यो मन्दिर पाल्पाका राजा मुकुन्द सेनले बनाएका हुन् ।

१९९० सालको भुकम्पले पुरानो मन्दिर ध्वस्त भएपछि प्यागोडा शैलीमा फेरि बनाइएको हो । करिब पाँच सय बर्ष पहिले पाल्पा राज्यका बेलाको शैनिक टुकुटीले मौला राखेर शक्तिपिठको पूजा गर्ने भएकाले मन्दिरको नाम मौलाकालिका राखिएको मन्दिरका प्रमुख सल्लाहकार तथा पूर्व डिआइजी ज्ञानेन्द्र विक्रम महत बताउछन् । सफा मनले पूजा गरे मनको इच्छा पूरा हुने जनविश्वास रहेको उनले बताए । करिब २० बर्ष यता मात्रै मन्दिरमा भौतिक संरचनाको विकास गरेर पर्यटक भित्राउन थालिएको महतको भनाई छ ।

विशेषतः शनिबार र बिदाका दिन मन्दिरमा तीर्थालुको घुइँचो लाग्ने गरेको छ । हरेक बिहान ’मर्निङ वाक’ गर्नेहरूको ठूलै भीड मन्दिरमा हुने गरेको छ । धार्मिक पर्यटकिय क्षेत्र रुपमा बिकास हुँदै गइरहेको मन्दिरमा केवलकार संचालनका लागी पहल थालिएको छ ।

नवलपुरको शाश्वत धाम,मौलाकालिका र देवघाटलाई जोडेर एकिकृत रुपमा पर्यटन भित्राउने पहल समेत थालिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सापकोटाले बताए । उनले एक बर्षमा पाँचलाख धर्मालम्बीले मन्दिरको दर्शन गरेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्