मनसुन सक्रियः तीन दिनसम्म लगातार वर्षा हुने, वर्षाका कारण तराईका केहि स्थान डुबान

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपालभर मनसुन सक्रिय भएको छ । भारी वर्षाका कारण तराईका केहि स्थान डुबानमा परेका छन् भने ठुलो बाढि आउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढिको खतरा

महाशाखाले एक विज्ञप्ति जारी गर्दै तीन दिनसम्म हल्कादेखि मध्य र केही स्थानमा भारी वर्षा हुने सम्भावना औँल्याएको हो । मनसुन पूर्ण रुपमा सक्रिय भएकाले अझै केहि दिन वर्षा हुने बताइएको छ ।

तीन दिनसम्म लगातार वर्षा भए पनि दिउँसो पख केही बेर वर्षा रोकिने र विशेष गरी साँझ, राति र बिहान वढी वर्षा हुने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । पूर्व, मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सजक रहन मौसमविद्हरुले आग्रह गरेका छन् ।

जल तथा मौसम विज्ञान विभाग, विज्ञान महाशाखा÷बाढी पूर्वानुमान शाखाले पनि बाढी बुलेटिन जारी गरी देशका अधिकांश भेगमा वर्षा र पश्चिमी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार सबै प्रमुख नदीमा जलसतह बढ्दो क्रममा रहेको छ । सोमबार पनि देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम खालको वर्षा तथा पश्चिम, मध्य र पूर्वी भागको मध्यपहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।

अविरल वर्षाले वैजनाथ गाउँपालिकाको वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा आज एकजना बेपत्ता भएका छन् । नालाको बाढीले बगाउँदा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा बेपत्ता भएको प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए ।

यस्तै भारी वर्षासँगै आएको पहिरोले सिदार्थ राजमार्ग, मुग्लीङ नारगणड सडकखण्ड भरतपुर, माडी, ठोरी हुलाकी सडक अवरुद्ध बनेको छ ।

सथासाथै लगातारको अविरल वर्षाका कारण सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । वर्षाका कारण जिल्ला मिर्चैयाको साथै गोलबजार, लहान, सुखीपुर, कल्याणपुर, बस्तीपुर, धनगढीमाई, सिरहा सदरमुकामलगायत ग्रामीण क्षेत्रको सडक हिलाम्य र जलमग्न भएको छ ।

रातिदेखि भइरहेको अविरल वर्षाका कारण आर्थिक राजधानी वीरगञ्जको विभिन्न स्थान डुबानमा परेका छन् । वीरगञ्जको श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुबानमा परेका हुन् ।

यस्तै उता पश्चिमको नेपालगञ्ज पनि वर्षाका कारण डुबानमा परेको छ । नेपागञ्जमा अवस्थित न्युरोड, सेतु विक चोक, विरेन्द्र चोक लगायतका क्षेत्र जलमग्न बनेका छन् ।नेपालगञ्ज उपमहानगरपालिकाका बेलासपुर, धम्बोझी, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँमासमेत डुबान भएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार सोमबार सबैभन्दा बढी भैरहवामा ६३, पोखरामा ६२, सिमरामा ५१, धनकुटामा २७ तथा विराटनगर र धनगढीमा १०÷१० मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा ४ मिलिमिटर वर्षा भएको महशाखाको पछिल्लो विवरणमा उल्लेख गरिएको छ ।