कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाको अधिकाँश भाग अहिले डुबानमा परेको छ भने पानी नभएको अली अग्लो ठाउँमा हिलो मात्रै छ । दुईदिनदेखि परेको वर्षाका कारण वीरगन्जको श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुबानमा परेका छन् ।

मुख्य बजार आदर्शनगर क्षेत्र, कृष्ण अस्पताल, नारायणी अस्पताल आसपासका क्षेत्रमा समेत पानीको निकास रोकिएका कारण सर्वसाधारणले सास्ती छ भने वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी पसेको छ । घर तथा पसलबाट निस्कने फोहोरहरु जथाभावी सडक र नालामा नै फाल्ने गरिएको कारण नाला जाम भएर वर्षेनी पानी पर्नेवित्तिकै वीरगन्जका अधिकांश सडकहरु तालमा परिणत हुने गरेका छन् ।
सडकमा पानी जमेका कारण विशेषगरी पैदल स्कुल जाने स–साना बालबालिकाहरु समस्यामा परेका छन् । बिद्यलयभित्रै पानी पसेको छ । वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्म कुमार भुषालले नाला अतिक्रमण गरिएका कारण डुबानको समस्या बर्षेनी देखिएको बताए । पानी निरन्तर परिरहेकाले केही समय पानी जम्नु स्वाभाविक भएको उनको भनाइ छ ।
वीरगन्जमा पानी पर्न थालेको दुईदिन मात्रै भएको छ । यसअघि वीरगन्जमा फाट्टफुट्ट मात्रै पानी परेको थियो ।
पानीको उचित निकासको ब्यवस्था नगरिएका कारण हरेक बर्षायाममा वीरगन्ज डुबानमा पर्छ भने हिउँदको समयमा धुलोका कारण वीरगन्ज अस्तब्यस्त बन्ने गरेको छ ।
वीरगन्ज महानगरपालिकाका मेयर बिजय सरावगीले वीरगन्जको शहर पूरै ब्यवस्थित नबनाएसम्म डुबान समस्या समाधान गर्न सकिने अवस्था नरहेको बताए । वीरगन्जको रानिघाटमा रहेको जिल्ला प्रशासन कार्यालय आफै डुबानमा छ भने महानगरपालिकाको पनि अवस्था दयनीय छ ।











प्रतिक्रिया