नेविसंघद्वारा तुलसीपुरमा ३ वटा सरकारी गाडीमाथि तोडफोड

0
Shares

नरेन्द्र केसी, दाङ ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आइतबार दाङको तुलसीपुरमा तीन वटा सरकारी गाडीमाथि तोडफोड गरेको छ।

इन्धन लगायतका वस्तुमा चर्को मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै झन्डै महिना दिनदेखि आन्दोलनरत नेविसंघले दाङमा सरकारी गाडीलाई निशाना बनाएर तोडफोड गरेको हो।

नेविसंघका कार्यकर्ताले तुलसीपुरमा तीनवटा सरकारी गाडीमा तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ । अदुलाबाली अनुसन्धान केन्द्र सल्यानको बा २ झ ३०७० र जिल्ला प्राविधिक कार्यालय रुकुमको बा १ झ ८४२२ नम्वरको गाडीको सिसा तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ ।

नेविसंघका विद्यार्थीले आन्तरिक राजस्व कार्यालय तुलसीपुरको एउटा मोटरसाइकल पनि तोडफोड गरेका छन् । यसैबीच अदुवाबाली अनुसन्धान केन्द्र सल्यानको गाडी चालक कपुरकोट निवासी मुकुन्द केसीले पछाडिबाट हानेको ढुङ्गाले सिसा फुटेर आफ्नो पाखुरामा चोट लागेको बताइएको छ ।