नेपाल समाचारपत्र, काठमाडौं ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि ‘चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक’ रोकिएको छ । अब २० असारपछि नियमित विधेयक आउने सम्भावना भए पनि संसद चल्नै नदिने प्रतीपक्ष दल नेपाली कांग्रेसले चेतावनी दिएको छ ।
ढिलो गरी प्रतिस्थापन विधेयक ल्याएको सरकारले नियम निलम्बन गरेर विधेयक अघि बढाएको थियो ।तर, अध्यादेशका मूल विषयबस्तु नै हेरफेर गरेको भन्दै कांग्रेसले विरोध गरेको छ । विधेयकमा उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिन पाउने, मेडिकल कलेजको ३ वर्षदेखि आफ्नै अस्पताल सञ्चालनमा भएको हुनु पर्ने र सार्वजनिक कलेजमा ७५ प्रतिशत छात्रवृत्ति हुनुपर्ने नियम हटाइएको छ ।
आइतबार संसद बैठक अघि शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित नेकपा र कांग्रेस नेताहरुबीच वार्ता भएको थियो । वार्तामा शिक्षामन्त्रीले विधेयक अघि बढाउन सहयोग मागेको बताइएको छ ।
तर, कांग्रेसले अध्यादेश जस्ताको तस्तै आए मात्र नियम निलम्बन गर्न सहयोग गर्ने बताएको छ । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद गगन थापाले अध्यादेशको फण्डामेन्टल विषयहरु नै हेरफेर गरेपछि स्वीकार्य नभएको प्रतिकृया दिएका छन् ।
कांग्रेसले प्रमुख प्रतिपक्षको असहमतिका बीच नियम निलम्बन गर्न खोजे संसद चल्नै नदिने कडा चेतावनी दिएको छ । सरकारले आजै विधेयक संसदबाट पारित गराउन खोजेको थियो । तर, नेकपा र कांग्रेसबीच सहमति हुन नसकेपछि संसद बैठक सूचना टाँसेर स्थगित भएको छ ।
अब भने असार २० पछि विधेयक पारित गरिने सम्मभावना रहेको बताइएको छ ।











प्रतिक्रिया