दिल्लीमा एकै घरका ११ जना मृत फेला

0
Shares

एजेन्सी, दिल्लीको बुराडीमा एउटै घरमा सात महिला र चार पुरुष गरी ११ जनाको शव भेटिएको छ।

एघार जनामध्ये दश जना सिलिङको फलामे डन्डामा झुण्डिएको अवस्थामा र ७५ वर्षीया वृद्ध महिला भुइँमा भेटिएको प्रहरीले जनाएको छ।

उनीहरूमध्ये धेरैजसोको आँखामा कालो पट्टि र हात पछाडि बाँधिएको छ। उनीहरू सबैले आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ।

छानबिन पछि यकिन तथ्य आउने बताइएको छ। मृतकहरूमा तीन जना बालबालिका पनि छन्। उनीहरू घर नजिकै किराना पसल र प्लाइवुड व्यवसाय गरिरहेका भाटिया परिवार भएको प्रहरीले जनाएको छ।

उनीहरू यो क्षेत्रमा २० वर्षदेखि बस्दै आएका थिए।

दैनिक उनीहरूले बिहान ६ बजे पसल खोल्ने गरेका थिए। आइतबार बिहान साढे सात बजेसम्म पसल नखुलेपछि एक छिमेकी उनीहरूलाई हेर्न घर पुगेका थिए। ढोका खुला थियो।

उनले परिवारका सबै सदस्य सिलिङमा झुन्डेको देखिपछि प्रहरीलाई खबर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।