करेन्ट लागेर दुईको मृत्यु

0
Shares

बाँके, (नेस)
बाँकेको राप्तीसोनारी गाउँपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

हाइटेन्सनको तार चुडिएपछि ट्रान्सफर्मर पड्किएको थियो । त्यसपछि हाइभोल्टेज सप्लाई भएको थियो । हाइभोल्टेजको करेन्ट पास भएपछि स्थानीयहरु मेच स्वीच अफ गर्न, मोबाइललाई चार्जबाट निकाल्न लागि परेका थिए ।

चार्जमा राखेको मोबाइल झिक्न जादा सुरेश थारु र घरको मेनस्वीच अफ गर्न जादा टीकाराम थारुको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुको उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको थियो ।

लो भोल्टेजको तारमा हाइटेन्सनको तार परेपछि महिमानपुर र लक्ष्मीराजपुरमा बढी करेन्ट फालेको थियो । चुडिएको तार भूईमा लत्रिएको थियो । हाइभोल्टेजबाट आएको अर्थिनले स्थानीय तिला शाही, कमल बुढाथोकी र दिनेश बुढाथोकी घाइते भएका छन् । घाइतेमध्ये तिलाको भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ ।

हाइभोल्टेजको तारबाट निस्केको अर्थिनले केही पशुचौपाया मरेका छन् । स्थानीयवासीका अनुसार, एउटा राँगो, तीन वटा गाई, तीन वटा सुंगुर, एउटा कुकुरको मृत्यु भएको छ । हाइकरेन्टले धेरैको घरमा क्षति पुगेको वडाध्यक्ष जनकराम थारुले बताउनुभयो ।

हाइटेन्सन तार चुडिनु, ट्रान्सफर्मर पड्किनु, हाइभोल्टेज आएका कारणले भएको ठूलो क्षतिको गाउँपालिकाका प्रमुख लाहुराम थारुले अवलोकन गरेका छन् । विद्युत कार्यालयका अधिकारीहरु पनि घटनास्थल पुगेका छन् ।