वनको जग्गामा स्थानीयको हाली–मुहाली, जातीय संघसंस्थाका नाममा वन अतिक्रमण

0
Shares

सरोज यादव, विराटनगर,
मोरङको पथरीशनिश्चरे–१० स्थित भूटानी शरणार्थीको तेस्रो देश पुनःस्थापना भई नसक्दै केही मुख्य राजमार्गसँगै जोडिएको जग्गा अतिक्रमणको चपेटामा पर्न थालेको छ ।

शरणार्थीको पुनःस्थापनासंगै २५ वर्षदेखि शिविर रहेको त्यहाँको जंगलक्षेत्र खाली हुँदैछ । शिविर खाली हुँदैजाँदा कहिले शिविर खाली हुन्छ भनेर दाउ हेरेर बस्ने गिरोह सलबलाउन थालेको छ ।

पथरी बजारबाट १ किलोमिटर पश्चिममा पूर्वपश्चिम महेन्द्र राजमार्गसँग शिविरक्षेत्र जोडिएको ठाउँमा खाली नभई सक्दै नयाँटहरा बन्न थालेका छन् । राजमार्गलाई छोएको व्यापारिक सम्भावना भएको शिविर डाँडामा विभिन्न व्यक्तिहरुले वनको जग्गामा टहरा निर्माण गरी व्यवसाय सुरु गरेका छन् ।

पशुपति सामुदायिक वन क्षेत्रमा पर्ने शिविर डाँडा अहिले चौतर्फी अतिक्रमणको चपेटामा परेको छ । केही समयअघि याम्फू समाजको नाममा स्थानीय ज्ञानेन्द्र राईले ३ कठठा जग्गा ओगटेका थिए । मन्दिर बनाउने बाहानामा वन क्षेत्रको सरकारी जग्गा ओगटेपछि सशस्त्र प्रहरीले उक्त क्षेत्रको अतिक्रमण हटाएको थियो ।

अन्तर धार्मिक सञ्जालका नगरअध्यक्षसमेत रहेका राईले प्रतिव्यक्ति २ हजार रुपैयाँ लिएर सञ्जालको सदस्य बनाई जग्गा दिने आश्वासन दिने गरेको स्थानीयको आरोप छ । उनले तामाङ, किरात राई, धिमाल, विश्वकर्मा, श्रेष्ठ र चौधरी समुदायका व्यक्तिहरुलाई मन्दिर बनाउने जग्गा दिने प्रलोभन देखाई दुई हजार रुपैयाँ लिने गरेको स्थानीयहरु बताउँछन् ।

सडक किनारमा समेत गरी दर्जनबढी फलफूल, चिया पसल, होटल, सैलुन, मनिट्रान्फरलगायतका व्यवसायिक गुम्ती सञ्चालनमा छन् ।

वन क्षेत्र अतिक्रमण गरी सञ्चालन भएका गुम्ती हटाउने विषयमा कार्यपालिका बैठकमा छलफल गर्ने तयारी भइरहेको पथरीशनिश्चरे–१० की महिला सदस्य मैनादेवी फुयलको भनाइ छ । आफूहरुले टहरा हटाउन पटक–पटक प्रयास गर्दा पनि अटेर गरेकोले नगरपालिकामा छलफल गर्न लागेको फुयलले बताईन् ।

मोरङको पथरीशनिश्चरे–१० स्थित शरणार्थी शिविर करिव अबको एक वर्षमा झापाको दमकस्थित बेलडाँगी शिविरमा गाभिदैछ । शिबिर भएको स्थानका बारेमा मन्त्रालयबाट निर्णय भएर नआउँदासम्म स्थानीयसमेत अलमलमा पर्ने गरेका छन् ।

नगरपालिकाको भवन बनाउनका लागि पहल भईरहेको जग्गा मन्त्रीपरिषद्ले चाँडै निर्णय नगर्ने हो भने समस्या आउने स्थानीयले बताएका छन ।