काठमाडौं, (नेस)
सर्वोच्च अदालतले दीपक मनाङेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ । न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले मनाङेको मुद्दामा बिहीबार सुनुवाइ गर्दै कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।
यसअघि उच्च अदालतले गरेको फैसला र सर्वोच्चले सदर गरेको फैसला सर्वोच्चले मगाएको हो । मनाङबाट प्रदेशसभामा प्रत्यक्ष विजयी भएका मनाङेले अहिलेसम्म सपथ लिएका छैनन् । कर्तव्य ज्यान मुद्दामा हाल डिल्लीबजार थुनामा रहेका मनाङलाई सर्वोच्चले अर्को सुनुवाइमा धरौटीमा छोड्ने वा नछोड्ने विषयमा निर्णय सुनाउनेछ ।
ज्यान मार्ने उद्योग गरेको अभियोगमा तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला अनुरुप मनाङे जेलमा छन् । सर्वोच्चले मनाङेसहित दोषी ठहरिएका गणेश लामालगायतलाई सफाइ दिएको थियो ।
आफूसँगै प्रतिवादी बनाइएका अन्य अभियुक्तकहरुले सफाइ पाएकाले उक्त अभियोगमा आफू मात्र दोषी नहुने मनाङेको दाबी छ । मनाङेबाहेकका प्रतिवादीहरुको हकमा सरकारले सर्वोच्चमा पुनरावेदन गरेको हो । फरार रहेकै समयमा वैशाख ६ गते मनाङेलाइ प्रहरीले पक्राउ गरेको हो ।











प्रतिक्रिया