प्रधानमन्त्री केपी ओलीको जवाफः ‘अधिनायकबाद चैनेक्यारे माने भयो अहिले’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको वैठकलाई जवाफ दिइरहेका छन्। शुक्रबार जारी वैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिइरहेका हुन्। चीन भ्रमण सकेर आएपछि ओलीले संसदलाई सम्बोधन गरेका थिए। त्यसपछि सांसदहरूले सरकारसँग विभिन्न प्रश्न गरेका थिए। तिनै सांसदहरुलाई ओलीले उत्तर फर्काइरहेका छन्।

संसदलाई जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकतन्त्र खतरामा छ’ भनेर जनतामा भ्रम नछर्न आग्रह गरेका छन् । साथै विपक्षीहरुतर्फ संकेत गर्दै उनले अधिनायकवाद आउँछ भन्नु थेगो जस्तै भएको बताएका छन् । उनले उखानटुक्का मिसाउदै भन, ‘अधिनायकबाद चैनेक्यारे माने भयो अहिले ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै ओलीले राजश्व अनुसन्धान, राष्ट्रिय अनुसन्धान लगायतका निकायलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको बताए ।

सरकार लोकतन्त्र प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्र जान्छ कहाँ ? लोकतन्त्र जान्छ भने आउँछ के ? जनताको जागरण, एकता र ठूलो संघर्षबाट आएको लोकतन्त्रलाई कुन तागतले यसलाई पन्छाउन सक्छ ।’लोकतन्त्र कसैले किस्तीमा सजाएर दिएको होइन भन्दै उनले त्यसका लागि ४५५० वर्षदेखि लागेका घाउका खतहरु अझै रहेको बताए ।

केटाकेटीलाई हाउगुजी देखाएजस्तो आशंका भ्रम फैलाउने कुरा देशका लागि हितकार नभएको भन्दै उनले तिव्रताका साथमा चौतर्फी रुपमा एकैसाथ गर्नुपर्ने बताए । उनले विदेशीको पैसाले पहाड प्वाल पारेर पानी ल्याउँदा किन प्वाल पारेको भनेर प्रश्न गर्न नमिल्ने बताए । उनले बाह्यपुँजी भन्दा आफ्नै श्रोतको सुरक्षा गर्दै विदेशी लगानीको सहयोगमार्फत विकासमा अघि बढ्नुपर्ने बताए ।