विशेष जहाजबाट चीन जाँदै ‘भद्र’ र ‘रूपसी’

0
Shares

टीका बन्धन, काठमाडौं
चीनलाई उपहारस्वरूप प्रदान गर्ने तयारी गरिएका दुई जोडीमध्ये एक जोडी गैंडा यही महिनाभित्र चीन पठाइँदै छ। असार मसान्तअघि नै ‘भद्र’ र ‘रूपसी’ नामका भाले–पोथी गैंडा चीन पठाउने तयारी गरिएको हो।

चीन पठाउन लागिएका गैंडाको नाम वन तथा वातावरण मन्त्रालयले जुराएको हो। चिनियाँ वन्यजन्तु विज्ञको टोली बिहीबार चितवन पुगेर समग्र वस्तुस्थिति नियालेपछि भद्र र रूपसी विशेष विमान मार्फत चीन पुग्ने निधो भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा चीनले नेपालसँग दुई जोडी गैंडा उपहार मागेपछि अहिले त्यसको अन्तिम तयारी अघि बढाइएको हो।

दुर्लभ वन्यजन्तु तथा वनस्पतीको व्यापार महासन्धि (साइटिस) का चिनियाँ सहायक निर्देशक लिउ टिवाङको नेतृत्वको ८ सदस्यीय टोली बिहीबार चितवन पुगेर आफ्नो मुलुक लैजाने गैंडा नियालेको छ। यो टोली स्वदेश फर्किएपछि असार अन्तिम साता चिनियाँ वन्यजन्तु विज्ञको अर्को टोली गैंडा लिन विशेष विमानसहित नेपाल आउने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

‘यही असार २९ भित्रैमा एक जोडी गैंडा पठाउने तयारी भइरहेको छ’, विभागका उप–महानिर्देशक गोपालप्रकाश भट्टराईले भन्नुभयो– ‘विशेष विमानसहित अर्को चिनियाँ टोली फेरि नेपाल आउँदै छ। काठ र फलाम मिश्रित खोरमार्फत गैंडा काठमाडौंसम्म ल्याइनेछ। यो कामको जिम्मेवारी विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिइएको छ। बिहीबार चितवन पुगेको चिनियाँ टोलीले गैंडाको आनीबानी, आहारा, खोर (बुमा) लगायत अन्य तयारीबारे अध्ययन÷अवलोकन गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिनुभयो।

चिनियाँ पाहुनालाई गैंडाको प्राकृतिक बासस्थानसमेत अवलोकन गराइएको उहाँले बताउनुभयो।

२ महिनाअघि नियन्त्रणमा लिइएका २ जोडी गैंडालाई जमिनमा खाल्टोको स्वरूपमा तयार गरिएको बुमा र त्यसपछि कंक्रिट प्रयोग गरिएको आधुनिक खोरमा घुलमिल हुन सिकाइएको छ। स्थानीय घाँस, विभिन्न प्रकारका फलफूल, बन्दागोभीजस्ता खुराकसहित चिकित्सकको निगरानीमा अर्धप्राकृतिक वातावरणमा अभ्यस्त हुन सिकाइएको हो।

एउटै आर्थिक वर्षमा २ जोडी वन्यजन्तु एकअर्को मुलुकमा उपहार पठाउन नमिल्ने भएकाले अर्को जोडी गंैडा नयाँ आर्थिक वर्ष शुरू भएपछि मात्रै पठाउने गृहकार्य अघि बढाएको बताइएको छ। नेपालका यी दुर्लभ उपहारलाई चीनले आफ्नो मुलुकको चिमे लाङ र सांघाई वाइल्ड एनिमल पार्कमा राख्ने तयारी गरेको छ।