विश्व सम्पदा क्षेत्र खतराको सूचीबाट हट्यो

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं
विश्व सम्पदा सूचीको खतराको सूचीमा राख्ने प्रस्ताव खारेज भएको छ। युनेस्कोले बहराइनमा जारी ४२औं साधारणसभाले खतरामा नराख्ने निर्णय गरेको हो। भूकम्पलगत्तै सन् २०१५ देखि २०१७ सम्म लगातार विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबारलगायत ७ वटा क्षेत्रलाई खतराको सूचीमा राख्ने चेतावनी दिएको थियो। हाल सम्पदाहरूको पुनर्निर्माण सन्तोषजनक रहेको जनाउँदै सन् २०१८ देखि खतराको सूचीमा नराख्ने जनाएको हो।

‘हरेक वर्ष खतराको सूचीमा राख्ने चेतावनी दिएको युनेस्कोले यो वर्ष खतराको सूचीमा राख्ने चेतावनी खारेज भएको हो।’ –पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भन्नुभयो।
८ दिनसम्म चल्ने साधारणसभामा बुधबार नेपालले खतराको सूचीमा राख्ने चेतावनी फिर्ता लिन आग्रह गरेको थियो। नेपाल पक्ष राष्ट्रले नेपालले उपत्यकाका सम्पदा क्षेत्रको संरचना पुनर्निर्माणमा प्रगति गरेको जनाउँदै खतराको सूचीमा राख्ने युनेस्कोको निर्णय फिर्ता लिन अपिल गरेको थियो।

यसअघि सन् २००३ मा बौद्ध स्तुपमा भइरहेको कार्यको विरोध जनाउँदै उपत्यकाको सम्पदालाई खतराको सूचीमा राखेको थियो। सन् २००७ मा खतराको सूचीबाट हटेपछि सन् २०१५ देखि पुनः खतराको सूचीमा राख्ने चेतावनी दिएको थियो। युनेस्कोले उपत्यकाभित्र रहेका हनुमानढोका, पाटन र भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथ, चाँगुनारायण, स्वयम्भु र बौद्धनाथ गरी ७ क्षेत्रलाई लगातार चौथोपल्ट खतरामा राख्ने निर्णय असफल भएको छ।

‘नेपालले विश्व सम्पदा सूचीमा नराख्न आग्रह गरेपछि नेपाल पक्षधर राष्ट्रले नेपालको समर्थन गरेपछि सूचीमा राख्ने चेतावनी खारेज भएको हो।’ –महानिर्देशक दाहालले भन्नुभयो।

नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, पुरातत्व विभागका विश्व सम्पदा महाशाखाका प्रमुख डा. सुरेश श्रेष्ठ र फ्रान्सका लागि नेपाली राजदूत अम्बिका मानन्धर सहभागी हुनुहुन्छ। नेपालको तर्फबाट विश्व सम्पदा महाशाखा प्रमुख पुरातत्व अधिकृत डा. श्रेष्ठले २०७२ को भूकम्पपछि हालसम्म गरेको प्रगतिको जानकारी गराउनुभएको थियो।

उहाँले विश्व सम्पदा क्षेत्रमा पर्ने हनुमानढोकालगायत विश्व सम्पदामा सूचीकृत ७ वटै क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको थियो।

अस्ट्रेलिया, हंगेरी, चीनलगायत पक्षधर राष्ट्रले खतराको सूचीमा नराख्न आग्रह गरेका थिए। विश्व सम्पदा संरक्षण महासन्धि सन् १९७२ अन्तर्गत काठमाडौं उपत्यका सन् १९७९ मा सूचीकृत भएको थियो।
युनेस्कोको सम्पदा समितिको बैठकमा २१ राष्ट्र सहभागी छन्।

युनेस्कोअन्तर्गत १ सय ९९ राष्ट्र संलग्न छन्। अघिल्लो वर्ष सम्पदा पुनर्निर्माणका बारेमा सुपरीवेक्षण गर्न आएको युनेस्कोको टोलीले पुनः काठमाडौं उपत्यका क्षेत्रलाई खतराको सूचीमा राख्नुपर्ने जनाउँदै आएको थियो। सन् २०१७ देखि हालसम्म विश्व सम्पदा क्षेत्रमा गरेको प्रगतिपछि खतराको सूचीमा राख्ने खतरा टरेको हो।

२०७२ वैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पले ७ वटा विश्व सम्पदा क्षेत्रको करिब ९० वटा सम्पदा क्षतिग्रस्त भएको थियो। भूकम्पपछि ती सम्पदा पुनर्निर्माण गर्नमा सरकारले सुस्तता देखाएका कारण युनेस्कोले खतराको सूचीमा राख्ने चेतावनी दिएको थियो।
हाल हनुमानढोका क्षेत्रको काष्ठमण्डप, वसन्तपुरस्थित नौतले, गद्दी बैठकलगायत अधिकांश सम्पदाको पुनर्निर्माण भइरहेको छ। पाटन र भक्तपुर दरबार क्षेत्रलगायतका सम्पदाको पुनर्निर्माण सन्तोषजनक रहेको छ।
हाल विश्वभर करिब १ हजार ५५ सम्पदा विश्वसम्पदा सूचीमा रहेका छन्। नेपालको काठमाडौं उपत्यकाका ७ र लुम्बिनी गरी दुई सांस्कृतिक र चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रलाई प्राकृतिक सम्पदाको रूपमा सूचीकृत गरेको थियो।

गत वर्ष टर्कीको स्तानाबुलमा सम्पन्न साधारणसभाले जोगाउन एक वर्षको मौका दिएको थियो। लगत्तै नेपालले विश्व सम्पदा क्षेत्रमा रहेका सम्पदा पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेर पुनर्निर्माण शुरू गरेपछि खतराको सूचीमा राख्ने सम्भावना टरेको छ।

युनेस्कोको चौथो पटकको प्रयास असफल