सुत्केरी भैंसीका लागि पनि सुरक्षा भत्ताको व्यवस्था

0
Shares

दयाराम पण्डित, बाजुरा ।

सुत्केरी भैंसीको पोषण सुरक्षाका लागि भन्दै बडिमालिका नगरपालिकाले सुत्केरीभत्ता कार्यक्रम ल्याएको छ । किषानलाई पशुपालन व्यवसायतर्फ आकर्षण गर्न र उचित दानापानीको व्यवस्थापन गरी दुध उत्पादनमा वृद्धि गर्न भैंसीका लागि सुरक्षा भत्ता कार्यक्रम ल्याएको हो ।

नगरप्रमुख पदम बडुवालले भन्नुुभयो “किसानले पशु बस्तुलाई सुत्केरी अवस्थामा पोषण सुरक्षाको ख्याल नगर्ने र उचित दाना पानीको कमीले दुध उत्पादन र पशुको स्वास्थ्य समेत कमजोर हुने हुँदा प्रोत्साहन स्वरुप भत्ता सुविधा दिने नीति लिइएको हौं । ” नगरपालिका पशु सेवा शाखाले यो वर्ष भैंसीको सुत्केरी भत्ताका लागि ५० हजार रुपैयाँ छुट्याएको छ । मानव स्वास्थ्यको समेत ख्याल नगर्ने समुदायलाई पशुजन्य वस्तुको सुरक्षामा पनि ध्यान दिन लगाउने गरी प्रोत्सान स्वरुप कार्यक्रम सञ्चालन गर्न लागिएको शाखा प्रमुख शंकर सिंहले बताउनुभयो ।

बडिमालिका नगरपालिका क्षेत्र भित्रका भैंसीपालक किषानलाई मात्र उक्त सुुविधा दिइनेबतायएको छ । उचित पालनपोषण र दानापानी खुवाउँदा भैंसीको सुरक्षा र दुध उत्पादनमा वृद्धि हुने अपेक्षाका साथ सुरक्षा भत्ता कार्यक्रम ल्याएको शाखा प्रमुख सिंहले बताउनुुभयो। किसानले घाँसपात बाहेक अन्य पोषणयुक्त खानेकुरा दिने चलन छैन जसलेगर्दा पशु वस्तुको आयु कम हुने,स्वास्थ्य बिग्रिएर बेला बेला बिरामी हुने र लगानी खेर जाने समस्या कम गर्न नयाँ अवधारणाले सघाउने जनाइएको छ ।

नगरपालिकाले भैंसीका पाडा संरक्षणका लागि पनि प्रोत्सान भत्ता छुट्याएको छ । जन्मिने बित्तिकै पाडा फाल्ने चलन बढेसँगै भैंसीको संख्यामा कमी भएको र मासु तथा दुध उत्पादनमा पनि कमी भएको हुँदा पाडा संरक्षणका लागि यो वर्ष ५० हजार रुपैयाँ छुट्याइएको छ । रकम नगरपालिकामा वा टोलमा गठन भएको किषान समूह र वडा कार्यालयको सिफारिसका आधारमा दिने व्यवस्था गरिएको छ । मार्तडीमा दैनिक डेढ सय देखि ३ सय लिटर दुध खपत हुने गरेको छ । प्रोत्साहन भत्ता असार १५ गतेसम्म वितरण गरिसक्ने लक्ष्य नगरपालिकाको छ ।

पशु शाखाले यो वर्षकै कार्यक्रममा जिल्ला बाहिरबाट उन्नत जातका भंैसी र गाई ल्याउन किसानका लागि ढुवानी खर्च दिने निर्णय गरेको छ । उन्नत जातका दुधालु भैंसी र गाई भित्र्याउने लक्ष्यसहित किषानलाई अनुदानस्वरुप २० हजारका दरले ढुवानी खर्च दिने शाखा प्रमुख सिंहले बताउनुभयो । यो वर्ष १० वटा भैंसी र ५ वटा गाईका लागि ढुवानी खर्च छुट्याईएको छ । कृषि र पशुपालन व्यवसायलाई पहिलो प्राथमिकतामा राखेर किसानलाई व्यावसायिक बनाउन खोजिएको नगर प्रमुख बडुवालले जानकारी दिनुभयो ।यसै विच गत साता सम्पन्न बडिमालिका नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न ३८ करोड २६ लाख ९५ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ ।

तेस्रो नगर सभाले आ.व. ०७५/०७६ को निति तथा कार्यक्रम प्रस्ताव गरेको हो । बडिमालिका नगरपालिकाका उपप्रमुख कविता बिष्टले समृद्ध बडीमालिका नगर निर्माणका पाँच खम्वा अन्तर्गत बडीमालिका नगर कार्यपालिकाको आ.व.०७५र०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । “खुशी नगरबासी समृद्ध नगर” भन्ने मुल नाराका साथ सुरु भएको तेस्रो नगरसभामा आर्थिक विकास नीतिमा एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरगत ९ वटै वडालाई विषय क्षेत्रका प्राविधिकको राय बमोजिम विशेष उत्पादन पकेट क्षेत्रका रुपमा विकास गर्ने गरी कार्यक्रम लागु गरिने बताइएको छ ।