कांग्रेस जिल्ला सभापतिको हेटौंडा भेला शुरु, हिन्दुराष्ट्रको मुद्धा उठ्ने


हेटौंडा,(नेस) । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाल मुलुक थप संकटमा परेको भन्दै कम्युनिष्टको हातमा लोकतन्त्र कदापी सुरक्षित हुन नसक्ने दाबी गर्नुभएको छ । उहाँले कम्युनिष्ट लोकतन्त्रवादी हुन सक्दछन् भन्ने भ्रम बाघ साकाहारी हुन्छ भन्ने जत्तिकै रहेको टिप्पणी गर्दै वर्तमान सरकार सर्वसत्तावादी चरित्रतर्फ उन्मुख भएकोले गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेको दाबी गर्नुभएको छ ।

हेटौंडामा मंगलबार शुरु पार्टी जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला उद्घाटन गर्दै उहाँले सरकारको व्यवहार भाषणमा संघीयता र काममा कम्युनिष्टको जनवादी केन्द्रियतातर्फ उन्मुख रहेको बताउनुभयो ।

‘केपी ओलीको राष्ट्रवाद लम्पसारवादमा परिवर्तन भएको छ । यस अवस्थामा संविधानको संरक्षण गर्ने, देशलाई कम्युनिष्टको अधिनायकवादबाट जोगाउने जिम्मेवारी पनि हाम्रो काँधमा आएको छ,’ उहाँले भन्नुभयो–संविधान संरक्षण गरी देशलाई शान्ति र प्रगतिको बाटोमा लैजाने हाम्रो लक्ष्य हो । कांग्रेसले सबै ठाउँमा जिम्मेवार तथा प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । एकतावद्ध, संगठित र व्यवस्थित कांग्रेसले नै यी जिम्मेवारी बहन गर्न सक्दछ ।

उहाँले गत निर्वाचनमा कांग्रेसको पराजय र कम्युनिष्ट पार्टीहरुको एकीकरणले चुनौती थपिए पनि आफू विचलित नभएको बताउनुभयो । ‘मैले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टीका रुपमा स्थापित गर्ने प्रण गरेको छु । यसका लागि सबै साथीहरुलाई एकजुट भएर सहयोग गर्न आह्वान गर्दछु,’ उहाँले जिल्ला सभापतिहरुबाट आशा राख्नुभयो । पार्टी गुटमा विभाजन भएर कमजोर भएको आरोप लाग्दै आएको अवस्थामा उहाँले पार्टीभित्र साथीहरुबाट केही असन्तुष्टि अभिव्यक्त हुने गरेको बताउनुभयो ।

‘कतिपय कुरालाई मैले स्वभाविकरुपमा लिएको छु भने कतिपय कुरा अतिरञ्जित र अशोभनीयढंगले उठ्ने गरेका छन् । पछिल्लो समय संविधान निर्माण र कार्यान्वयन प्राथमिकताका विषय भएको हँुदा मेरो र पार्टीको सम्पूर्ण ध्यान र ऊर्जा त्यसतर्फ केन्द्रित भयो,’ उहाँले आश्वस्त पार्ने प्रयाससहित प्रश्न गर्नुभयो–कांग्रेसले ठूला ऐतिहासिक उपलब्धि प्राप्त गर्ने र साना आग्रह÷पूर्वाग्रह राखी जानी÷नजानी आफंैले प्राप्त गरेका उपलब्धि अवमूल्यन हुने गरी हामी प्रस्तुत हुने कार्य गरिरहेका त छैनौं ?

उहाँले आफ्ना लागि राष्ट्र, लोकतन्त्र र कांग्रेस भन्दा प्रिय वस्तु अरु केही नभएको भन्दै बाल्यकालदेखि हालसम्म आफ्नो जीवन यसैमा समर्पित र बाँकी जीवन पनि यसै उद्धेश्यका लागि समर्पित रहने प्रण गर्नुभयो ।

‘हामीले एउटा लडाईं हारेका छौं, मैदान छाडेका छैनौं । यो संविधानका आधारभूत तत्व वा मूल विशेषताहरु नेपाली कांग्रेसका आदर्शबाट निर्देशित छन्,’ सभापति देउवाले भन्नुभयो–र, यो संविधानको सफल कार्यान्वयन पनि हामीले नै गरेका छौं । यस अर्थमा हाम्रो विचारले जितेको छ । साथीहरुलाई कमजोर मानसिकता होइन, उच्च मनोबलसाथ अगाडि बढ्न आह्वान गर्दछु ।

पछिल्लो निर्वाचनमा कांग्रेस हारको कारणबारे केन्द्रीय कार्यसमितिमा गम्भीर र सूक्ष्मरुपले छलफल भएको बताउँदै उहाँले दुई ठूला कम्युनिष्ट पार्टीको चुनाबी गठबन्धन हारको प्रमुख कारण देखिएको बताउनुभयो । ‘नेपाली कांग्रेसले पहिलेका निर्वाचनमा प्राप्त गरेको मत प्रतिशत् यथावत् रहेको र लोकप्रिय जनमत कांग्रेसको पक्षमा नै रहेको देखिन्छ,’ पार्टीका असन्तुष्ट जिल्ला सभापतिहरुलाई उहाँले विश्वास दिलाउनुभयो ।

तत्कालिन माओवादीले हतियार उठाएर हजारौं नेपालीले ज्यान गुमाएको अवस्थामा राजाले लोकतन्त्र हरण गरी मुलुकलाई थप उग्र मुडभेडको अवस्थामा पु¥याएको स्मरण गर्नुभएका देउवाले त्यो त्रासदीपूर्र्ण कालखण्डमा नेपाली कांग्रेसले दुईथरि बन्दुकबीच उभिएर मुलुकलाई शान्ति र लोकतान्त्रिक बाटोमा फर्काउन दोस्रो जनआन्दोलन र शान्ति प्रक्रियाको सफल नेतृत्व गरेको स्पष्ट पार्दै भन्नुभयो–फलस्वरुप, देश हत्या, हिंसा र आतंकको त्रासबाट मुक्त भयो ।

बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवाले बारम्बार मिल्नुपर्छ र एकजुट हुनुपर्छ भन्ने गरे पनि व्यवहार त्यस्तो नभएको भन्दै देउवाको आलोचना गर्नुभयो । वरिष्ठ नेता पौडेलले पार्टीको राम्रो व्यवस्थापन हुन नसक्दा पराजय भोगेको भन्दै पार्टीलाई पारदर्शीढंगले चलाउनुपर्ने बताउनुभयो । ‘पार्टीलाई अब स्वच्छ राख्नुपर्छ, आन्तरिक लोकतन्त्र सृदृढ गर्नुपर्छ,’ नेता पौडेलले भन्नुभयो ।

पौडेलले नेताहरुबीच रहेको वैमनश्यताका कारण कांग्रेस कार्यकर्ताले एकताको आवाज उठाउँदै आएको बताउनुभयो । उहाँले जिल्ला सभापतिहरुलाई समेत एकताको आवश्यकता खड्किएको महसुस गर्दै एकताको आधार र फर्मूला अब जिल्ला सभापतिहरुबाटै आउन आग्रह गर्नुभयो । हेटौंडा भेलाले एकताका लागि मजबुत आधार दिनसमेत उहाँले आग्रह गर्नुभयो ।

उपसभापति विमलेन्द्र निधिले अब पार्टीभित्र सबै एक भएर पार्टीभित्र पुनर्संरचनामा लाग्नुपर्ने बताउनुभयो । उहाँले अहिलेको चुनाबमा हारे पनि अब जित्न मेहनत गरेर लाग्नुपर्ने बताउनुभयो । सरकारले राजनीतिक सिण्डिकेट लादेको उहाँको आरोप छ । नेकपाले आफ्नो हुकुमी शैलीमा काम गरेको उहाँको आरोप छ ।

नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले पार्टीभित्रको गुट÷उपगुटका कारण चुनाब हार्नुपरेको बताउनुभयो । नेपाली कांग्रेसको सिद्धान्त र इतिहास राम्रो भए पनि जनताबीच लैजान नसक्नु कांग्रेस पराजयको एउटा कारक भएको उहाँले औंल्याउनुभयो । बामशक्ति एक भए पनि कांग्रेसलाई हराउन नसक्ने अवस्थामा गुट÷उपगुटका कारण कांग्रेसको यो अवस्था हुन गएको उहाँको भनाइ थियो ।

नेता विजय गच्छदारले दुई नेताहरु एउटै ठाउँमा उभिनु आवश्यक रहेको बताउनुभयो । नेपाली कांग्रेसलाई पहिलेकै अवस्थामा ल्याउन शीर्ष नेताहरु गुट÷उपगुट गर्न नभएर एकवद्ध हुन उहाँले आग्रह गर्नुभयो ।

पार्टी केन्द्रीय बैठकले निर्वाचनमा हारको वास्तविक कारण खोतल्न र पार्टीलाई थप प्रभावकारी बनाएर अघि बढ्ने बाटो पहिल्याउन नसकेपछि थप सुझावका लागि जिल्ला सभापतिको भेला आह्वान गरिएको हो ।

भेलामा जिल्ला सभापतिहरुले निर्वाचनमा पराजय भोग्नुका कारण, तल्ला तहका कार्यकर्ताको सुझाव, गुनासो, पार्टीको विधान संशोधनबारे धारणा राख्नेछन् । ३ दिन चल्ने भेलामा केन्द्रीय कार्यसमितिका सदस्य र ७७ जिल्लाका सभापति सहभागी छन् ।

नेतृत्वलाई अप्ठ्यारोमा पार्न सक्ने

संस्थापन पक्षसँग ३२ जिल्ला सभापतिमात्र देखिएका छन् । भेलामा जिल्ला सभापतिहरुले पक्ष र विपक्षमा गर्ने बहसले नेतृत्वलाई अप्ठ्यारोमा पार्न सक्ने आँकलन छ । संख्यात्मकरुपमा संस्थापन पक्षसँग भन्दा पौडेल र सिटौला पक्षसँग धेरै सभापति छन् । पौडेल पक्षसँग ३७ र सिटौला पक्षसँग ६ सभापति रहेको बताइन्छ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि सिटौला संस्थापन देउवासँग टाढिएर पौडेलसँग नजिकिएका छन् ।
छलफलमा संस्थापन पक्ष पौडेल र सिटौला खेमालाई हाबी हुन नदिने रणनीतिमा छ भने पौडेल र सिटौला पक्ष सभापति देउवा कमजोर भएको सन्देश दिने गरी लागेका छन् ।
भेलाअघि नेपाली कांग्रेसले हेटौंडामा ¥याली निकालेर शक्ति प्रदर्शन गरेको थियो । कम्युनिष्टको गढ मानिएको मकवानपुरमा कांग्रेसले शक्ति प्रदर्शन गरेको थियो । हेटौंडाको बुद्धचोकबाट निकालिएको ¥याली पीपलबोट, चेम्बरमार्गहुँदै पल्पसा हलमा सभामा परिणत भएको थियो ।

रचनात्मक सुझाव आउने सम्भावना कम

भेलामा केन्द्रीय कार्यसमितिको बैठकमा जस्तै आरोप÷प्रत्यारोप बढी हुने, एक गुटले अर्को गुटका नराम्रा कुरामात्र खोतल्ने र आफ्नो गुटको बचाउमा लाग्ने खतरा रहेकाले रचनात्मक सुझाव आउने सम्भावना कम रहेको भन्दै केही जिल्ला सभापतिले असन्तुष्टि जनाएका छन् ।

भेलाका लागि सदस्यताको प्रकृति परिवर्तनको मागसहितको खाका तयार पारिएको छ । साधारण सदस्यता, क्रियाशील सदस्यता, संस्थागत र त्यसपछि पूर्णकालीन सदस्य पनि हुनुपर्ने खाकामा उल्लेख छ । कम्युनिष्ट पार्टीकै जस्तो पूर्णकालीन सदस्यता हुनुपर्ने माग राखिने भएको छ । हालसम्म कांग्रेसमा पूर्णकालीन काम कसैले गर्नु नपर्ने व्यवस्था छ ।

भेला पार्टीलाई नयाँ दिशाबाट अघि बढाउने भन्दा पनि आगामी महाधिवेशनमा आफ्नो पकड कसरी जमाउने भन्ने ध्याउन्नमा केन्द्रित हुने खतरा रहेको उनीहरुको भनाइ छ । सभापति देउवा गुटका नेताहरुले आफू पक्षका सभापतिसँग बेग्लै छलफल गरी पौडेल, कोइराला र सिटौला पक्षलाई भेलामा कसरी हावी हुन नदिने भन्ने रणनीति बनाएको छ ।
नेता पौडेल, महामन्त्री कोइराला तथा नेता सिटौला पक्षले पार्टीभित्र आफ्नो समूह हावी हुँदै गएको सन्देश दिने गरी तयारी गरेका छन् । पौडेल, कोइराला र सिटौला गुटले काठमाडौंमा नै आफ्नो पक्षका सभापतिको बेग्लै बैठक गरेको थियो ।

चुनाबी पराजयको समीक्षाका सन्दर्भमा जिल्ला पदाधिकारीको भेला अपेक्षा गरिएअनुसार उपलब्धिमूलक नहुने संकेत देखिएको छ । चैत÷वैशाखमा लामो समय चलेको केन्द्रीय समिति बैठकमा चुुनाबी पराजयको जिम्मेवारी एक पक्षले अर्को पक्षको टाउकोमाथि थोपरेको थियो । त्यसैको पुनरावृत्ति जिल्ला पदाधिकारीको भेलामा हुने सम्भावना देखिएको छ ।

संविधानिक व्यवस्थाअनुरुप राज्य पुनर्संरचनालाई सुहाउँदो गरी विधान संशोधन गर्ने मामिलामा जिल्ला पदाधिकारीको भेला सहयोगी हुने सम्भावना न्यून देखिएको छ । संविधानले जिल्लाको अस्तित्व स्वीकार गरे पनि भूमिका भने स्वीकार गरेको छैन । प्रदेश, निर्वाचन क्षेत्र र पालिकाको अवधारणा र भूमिकालाई संविधानले विशेष महत्व दिएको छ ।

वर्तमान राज्य संरचनाअनुसार अब जिल्ला कार्यसमितिको आवश्यकता तथा औचित्य छैन । तर, जिल्ला पदाधिकारीको भेलामा भने जिल्ला कार्यसमितिलाई यथावत् राख्ने मात्रै होइन, अधिकारसम्पन्न बनाउने गरी विधानमा व्यवस्था गर्नुपर्ने प्रस्ताव पारित गर्ने तयारी गरिएको छ ।

जिल्लाभित्रका पालिकाको तथा प्रदेशसभा टिकट बितरण गर्ने सम्पूर्ण अधिकार जिल्ला कार्यसमितिलाई हुनुपर्ने, प्रतिनिधिसभा टिकट बितरणको सन्दर्भमा जिल्ला कार्यसमितिले गरेको सिफारिस ‘तलमाथि’ गर्नुपरे सम्बन्धित जिल्ला कार्यसमितिको राय लिनुपर्ने लगायत एजेन्डा अघि सार्ने तयारी जिल्ला पदाधिकारीले गरेका छन् ।

आफूहरुलाई अधिकारसम्पन्न बनाउने मामिला भएका कारण यस्ता एजेन्डाहरु सर्वसम्मतिद्वारा पास हुने सम्भावना छ । विघटन गर्नुपर्ने कमिटीले अझ अधिकारसम्पन्न हुनुपर्ने माग राख्ने सम्भावना देखिएका कारण जिल्ला सभापतिको भेला कांग्रेसका लागि चुनौतीपूर्ण हुने सम्भावना हो । यस विषयमा केन्द्रीय नेताहरु बेखबर छैनन् ।

हेटौंडा–२ स्थित पल्पसा सभाहलमा शुरु भेलाको छलफलमा मूलतः तीन वटा विषयले स्थान पाउने छन् । समसामयिक राजनीतिक सन्दर्भमा नेपाली कांग्रेसले तयार गर्नुपर्ने दृष्टिकोण, बदलिएको चुनौती सामना गर्नसक्ने सांगठनिक संरचना निर्माण तथा नेपाली कांग्रेसको बदलिएको राज्य संरचनाको विधान कस्तो बन्नुपर्छ भन्ने विषयमा बैठक केन्द्रित हुनेछ ।

बन्दसत्र आजदेखि

भेलाको दोस्रो दिन बुधबारदेखि जिल्ला सभापतिहरुको धारणासहित बन्द सुरु हुनेछ । जिल्ला सभापतिहरुले आआफ्नो जिल्लाको संगठन तथा राजनीतिक अवस्थाबारे धारणा राखेर सकिएपछि सात वटै प्रदेशको समूहगत छलफल हुने बताइएको छ ।

जिल्ला सभापतिहरुले संगठन, विधान तथा समसामयिक विषयमा आफ्ना धारणा राख्ने क्रममा पछिल्लो समय निर्वाचनमा भोगिएको पराजयको सन्दर्भमा समेत समिक्षा हुनेछ । पार्टीले पराजय व्यहोरेको, नवीनढंगबाट कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रीय समितिले भेलाबाट आफ्नो आधिकारिक धारणा तयार गर्नेछ ।
सभापतिहरुको भेला कांग्रेसको विधानअनुसार कार्यकारी पद होइन । यहाँ उठेका विभिन्न प्रश्न तथा भेलाबाट आएको सुझाव ग्रहण गर्दै अब चाल्नुपर्ने कदमका विषयमा आवश्यक सुझाव संकलन हुनेछ । सोहीअनुसार पार्टी केन्द्रीय समितिले आगामी रणनीति तयार पार्नेछ ।

हिन्दुराष्ट्रको मुद्धा उठ्ने

भेलामा हिन्दुराष्ट्रको मुद्धाले विशेष स्थान पाउने भएको छ । पार्टी सभापति देउवाको गृहजिल्ला डडेल्धुराका पार्टी जिल्ला सभापति कर्ण मल्लले आफूले उक्त मुद्धा भेलामा जबर्जस्तरुपमा उठाउने बताउनुभयो । उहाँका अनुसार पार्टी जिल्ला कमिटीले जेठ २६ गते यस विषयमा निर्णय नै गरिसकेको छ । ‘हामीलाई आशा छ, अरु जिल्लाका सभापतिहरुले पनि यसलाई समर्थन गर्नुहुनेछ,’ उहाँले भन्नुभयो ।