नेपाल समाचारपत्र, सल्यान ।
खोलामा माछा पाइन छाडेपछि बादी समुदायको पुर्ख्यौली पेसा संकटमा पर्न थालेको छ । पानीको सतह घट्दै गएपछि यहाँका अधिकांश खोलामा माछा पनि घटेका छन् । जलवायु परिवर्तनको प्रभाव, खोलामा पानीको सतह घट्नु र करेन्ट तथा विषादीको प्रयोग लगायतका कारणले माछा घटेका हुन् ।
शारदा खोलामा वर्षौंदेखि माछा मार्दै आएका त्रिवेणी गाउँपालिकाका ४२ वर्षीय लालबहादुर बादीले पुख्र्यौली पेसा संकटमा परेपछि जीविकोपार्जनमा समस्या भएको बताए । ‘पहिले जालको सहायताले माछा माथ्र्यौं, दैनिक दस किलोसम्म माछा पाइन्थ्यो,’ उनले भने, ‘अहिले बल्छीले माछा मार्न थालेका छौं, दिनमा एक किलो माछा भेटाउन समेत समस्या छ ।’
खोलामा माछा नभएका कारण जीविकोपार्जनमा समस्या आएपछि बादी समुदायले पेसा बदल्न थालेको उनले बताए । पहिले माछा बेचेर राम्ररी घरखर्च चलाएका उनले साँझ–बिहानको छाक टार्न समस्या भएको जनाए ।जलवायु परिवर्तनका कारण खोलामा पानीको सतह र माछाको संख्या घट्दै गएको संरक्षणकर्मीको भनाइ छ ।
स्थानीय दीर्घबहादुर बादीले ३० वर्षदेखि अपनाउँदै आएको पुख्र्यौली पेसा बदल्ने सोच बनाएका छन् । ‘पहिले खोलामा पानी प्रशस्तै हुन्थ्यो, जाल खेलेरै दैनिक १० किलोसम्म माछा मारिन्थ्यो,’ उनले भने, ‘त्यसैबाट घरखर्च राम्ररी चलेको थियो । अहिले माछा पाउनै गाह्रो छ, त्यसैले हाम्रो पेसा पनि संकटमा र्पयो ।’ उनले माछाकै खोजीमा दिनभर धाउँदा पनि मुस्किलले एक किलो माछा पाउने जनाए ।शारदा खोलामा माछा मारेर जीविकोपार्जन गर्दै आएका दुई दर्जन बढी बादी समुदायले पेसा परिवर्तन गरेका छन् ।
उनले सरकारी निकायबाट सहयोग भए व्यावसायिक माछा पालन गरेर आफूहरू आत्मनिर्भर बन्नसक्ने बताए । उनका अनुसार जीविकोपार्जनमा समस्या भएपछि बादी समुदायका बालबालिका सानै उमेरमा मजदुरी गर्न बाध्य छन् । अधिकांश बादी परिवारलाई साँझरबिहानको छाक टार्न समस्या छ । आर्थिक अवस्था कमजोर भएका कारण अधिकांश बालबालिका शिक्षाबाट वञ्चित भएको उनको भनाइ छ ।











प्रतिक्रिया