नेकपाको बैठकमा सरकारको प्रशंशा

0
Shares

काठमाडौंं ।
नेपाल कम्युनिष्ट पार्टीले सरकारको कामले जनस्तरमा राम्रो प्रभाव परेको निष्कर्ष निकालेको छ । पार्टी एकता प्रक्रियाले जनस्तरमा सकारात्मक प्रभाव पर्नुको साथै सरकारको कामले जनस्तरमा नयाँ आशा जगाएको निष्कर्ष निकालेको हो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास वालुवाटारमा शनिवार बसेको पहिलो स्थायी कमिटीको बैठकले सरकारको कामलाई थप प्रभावकारी रुपमा अगाडि बढाउने पनि निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताबद्ध भएपछि कार्यकर्ता र जनसमुदायमा पैदा भएको उत्साहलाई आत्मसात गर्दै पार्टी निर्माणमा जुट्न सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । पार्टी एकतालाई अझ सुदृढ र फलदायी बनाउन दुबै अध्यक्षले पार्टी पंक्तिलाई आह्वान र निर्देशन गर्नुभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

बैठकले पार्टी एकता एक अद्वितीय, असाधारण र विशिष्ट घटना भएकाले त्यसका आधारमा अघि बढ्नुपर्नेमा जोड दिदै सांगठिक एकीरकणको प्रक्रियालाई छिटोभन्दा छिटो अघि बढाउने निष्कर्ष निकालेको छ । सरकारका कामहरुको जनस्तरमा राम्रो प्रभाव परिरहेको निष्कर्ष निकाल्दै बैठकले थप विषयमा आत्मसमीक्षा गर्दै अझ प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुका साथै सरकारका कामहरुमा पार्टी पंक्तिलाई परिचालन हुन आह्वान गर्ने निर्णय गरेको छ ।

बैठकमा महासचिव कमरेड विष्णु पौडेलले एकतापछि भएका सांगठनिक कामहरुका बारेमा जानकारी गराउनुभएको थियो । एकीकरण प्रक्रिया ठीक ढंगले बढिरहेको र यसलाई गतिका साथ अघि बढाउनुपर्नेमा बैठकले जोड दिएको छ ।

महासचिव पौडेलको संयोजकत्वमा गठित नियमावली मस्यौदा कार्यदलले बुझाएको मस्यौदामाथि पनि बैठकमा छलफल भएको छ । उक्त मस्यौदामाथि स्थायी कमिटी सदस्यहरुले १० दिनभित्र आफ्ना राय–सुझावहरु दिने र केन्द्रीय सचिवालयले ती राय–सुझावहरु समेटेर तयार पारेको प्रस्ताव १५ दिनभित्र स्थायी कमिटीको बैठकबाट पारित गर्ने तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री कमरेड ओली र स्थायी समिति सदस्य तथा परराष्ट्रमन्त्री कमरेड प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका बारेमा जानकारी गराउनुभएको थियो । भ्रमण तयारी राम्रो रुपमा भएको र त्यसलाई आपसी हितका पक्षमा केन्द्रित गराउने काम भइरहेको उल्लेख गर्दै उहाँहरुले भ्रमण ऐतिहासिक रुपमा सफल हुने विश्वास व्यक्त गर्नुभएको छ, प्रवक्ता श्रेष्ठले बताउनुभयो ।