संयुक्त बैठक आज

0
Shares

काठमाडौं, (नेस)
संघीय संसद्को संयुक्त बैठक आज आइतबार ४ बजे बस्दै छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिलाई संयुक्त बैठक आव्हानका लागि सिफारिस गरेको थियो ।

संघीय संसद्को संयुक्त बैठकले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ पारित गर्नेछ । संयुक्त बैठक सञ्चालन कार्यविधि, साझा समिति र कतिपय निर्णय तथा अनुमोदन गर्ने प्रक्रियाहरु संघीय संसद्को कार्यक्षेत्रभित्र पर्दछन् । गत सोमबार बस्ने भनिएको उक्त बैठक विशेष कारण देखाई अन्तिम समयमा स्थगित गरिएको थियो ।

विधि र प्रक्रियाका बारेमा प्रश्न उठ्ला कि भनेर सोमबारको बैठक स्थगित गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीले बताउनुभएको थियो । संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले गत आइतबार सूचना जारी गरी संयुक्त बैठक बोलाउनुभएको थियो ।

आज नै दुवै सदनको अलग–अलग बैठक बिहान ११ बजे बोलाइएको छ । प्रतिनिधिसभामा विनियोजन विधेयक २०७५ को विभिन्न शिर्षकहरुमाथि छलफल भइरहेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका सञ्चारविज्ञ केशव पौडेलका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको नियमावली बनाउन गठित दुवै सदनको संयुक्त समितिले संयुक्त नियमावली बनाएको जनाउनुभयो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले अघिल्लोपटक बोलाइएको संयुक्त बैठक रोकिएपछि त्यसै दिन आजका लागि बैठक बोलाउने सहमति भएको बताउनुभयो । प्रतिनिधि सभामा १३ सदस्यीय र राष्ट्रिय सभामा ९ सदस्यीय नियमावली समिति बनाइएको थियो ।