सरकारले न्यायमूलक समाजको निर्माण गर्छ –मन्त्री थापा

0
Shares

भक्तपुर, (नेस) । महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले देशलाई आर्थिक, विकास र सामाजिक रुपमा सम्बृद्धि बनाउँदै सरकारले न्यायमूलक समाजको निर्माण गर्ने बताउनु भएको छ । गठ्ठाघर स्थित आस्था महिला विद्यालयको दशौ वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले जनताको साथ र सहयोग रहेमा आगामी पाँच वर्ष भित्र सरकारले सजिलैसंग आमूल परिवर्तन गर्दै देशलाई आर्थिक र सामाजिक रुपमा समृद्धि बनाउने बताउनुभयो । सुखी नेपाल र समृद्धि नेपालको सपना साकार पार्न सरकार कटिबद्ध रुपमा लागेको चर्चा गर्नुभयो ।

उहाँले महिलाको दुश्मन महिला नै भएको बताउँदै महिलाबाटै महिला हिंसाको शिकार बन्नु बिडम्बना रहेकाले त्यसको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।देशमा गणतन्त्र आईसक्दा पनि समाजमा अझै सामन्ती सोच, चिन्तन र पितृ सत्ताको सोचलाई चिर्न नसके महिला अगाडि बढ्न नसक्ने उहाँको भनाई थियो ।

उहाँले महिला भित्रै पनि विद्यमान सामन्ती सोच र मानसिकतालाई महिलाले आफैबाट फाल्नु पर्ने बताउनु भयो । अहिलेको स्थिर  कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव बद्री पौडेलले महिलाहरुले स्थापना गरेको यो विद्यालय नमूनाको रुपमा अगाडि बढेको चर्चा गर्दै सरकारको दायित्व विद्यालयले पुरा गरेको बताउनुभयो ।त्यसअवसरमा पूर्व सभासद केदार सञ्जेल, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जूना बस्नेत, विद्यालयकी प्रिन्सिपल पार्वती ज्ञवाली लगायतले पढाई छाडेर वा पढाईबाट बञ्चित भएर बसेका महिलाका लागि यो विद्यालय वरदान सावित भएको चर्चा गर्नुभयो ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष रुपा केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयले प्रकाशित गरेको आस्था स्मारिकाको लोकार्पण गर्नुभयो । कार्यक्रममा बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।