नेपाल समाचारपत्र, काभ्रे । समयमै काम सम्पन्न नगरी सरकारी सम्पति अलपत्र बनाउने निर्माण ब्यवसायीहरु पक्राउ पर्न शुरु भएको छ । जिल्लामा विभिन्न स्थानमा ठेक्का लिई समयमै सम्पन्न नगर्ने ठेकेदारको खोजी गर्ने क्रममा बुधबार एक जना ब्यवसायी पक्राउ परेका छन् ।
जिल्ला बन कार्यालय काभ्रेको मातहत रहेको साविक पोखरीचौरी गाविसमा रहेको इलाका बन कार्यालय चौबासको भवन निर्माण कार्य अलपत्र बनाउने अग्रिम निमार्ण सेवाका प्रोपाईटर नविन चौलागाईका भाई लालप्रसाद चौलागाई पक्राउ परेका हुन् ।
‘हामी समयमै काम सम्पन्न नगरी सार्वजनिक सम्पति अलपत्र बनाउने ब्यवसायीहरुको खोजि गरिरहेका छौ’–जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्काले भने– ‘गलत गर्नेहरुलाई प्रहरीले खोजीखोजी कारवाही गर्छ, सोहि क्रममा चौलागाई पक्राउ परेका हुन् ।’ पक्राउ परेका चौलागाईलाई आवश्यक कारवाही शुरु गरिएको छ । चौलागाईले २०७३ साल बैशाख २० गते योजना सम्झौता गरेका थिए । ६० प्रतिशत मात्रै काम सम्पन्न गराई फरार भएका निर्माण ब्यवसायी चौलागाईले २०७४ बैशाख १९ सम्पन्न गर्ने सम्झौता गरेका थिए । प्रहरीले चौलागाईलाई चौबास इलाकाबाट पक्राउ गरेको थियो । चालु वर्ष भित्रै निर्माण कार्य सम्पन्न गर्ने शर्तमा प्रहरीले उनलाई कागज गराएर एक रात हिरासतमा राखी छाड्ने तयारी गरेको छ ।
काभ्रेको रोशी गाउँपालिका–७ थान्सिङवेशी र नमोबुद्ध नगरपालिका–६ खरिबोटमा बनेको पुल बर्षैंदेखि अलपत्र अवस्थामा रहेको छ । जिल्लाको रोशी गाउँपालिकाको थान्सिङवेशी, सिपाली, सिसाखानी, महादेवटार, शिखरआम्बोटे, खहरेपाँगु लगायत विकट डाँडापारिस्थित महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाका स्थानीय बासिन्दाको सुविधाको लागि २०६५ सालमा पुल निर्माण गर्ने काम सम्झौता भएर कन्काई कान्छाराम कन्स्ट्रक्शन जेभी निर्माण कम्पिनीले ०६९ सालबाट ठेक्का लिएको पुल अझैसम्म पनि पूरा भएको छैन । रामेछाप घर भएका कान्छाराम तामाङ(पुर्णबहादुर)ले उक्त दुबै पुल अलपत्र बनाई फरार भएका छन् । प्रहरीले जिल्लामा रहेका अन्य योजनाहरुमा म्याद गुजारी बस्ने निर्माण ब्यवसायीहरुलाई पक्राउ गर्ने तयारी गरेको छ ।
धुसेनी शिवालय स्वास्थ्य चौकी निर्माण गर्ने दाप्चा निर्माण सेवा, कोलाँती स्वास्थ्य चौकी निर्माण गर्ने धुलिखेल निर्माण सेवा, जिल्ला प्रशासन कार्यालय निर्माण गर्ने जि एम कन्ट्रक्सनले सम्झौता अनुसार निर्माण क्षेत्रको काम गरिरहेका छैनन ।











प्रतिक्रिया