काष्ठमण्डप पुनर्निर्माणका लागि सम्झौता

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी काष्ठमण्डप पुनर्निर्माणका लागि सम्झौता भएको छ । प्रदेश सांसद राजेश शाक्यको अध्यक्षतामा गठित ५५ सदस्यीय पुननिर्माण समिति र काठमाडाँै महानगरपालिका बीच मंगलबार सहमति भएको हो । समितिको उपाध्यक्षमा तेजरत्न ताम्राकार, सचिवमा गौतम डंगोल र कोषाध्यक्षमा अशोकरत्न बज्राचार्य रहनुभएको छ ।

सम्झौतामा कामपाको तर्फबाट सहसचिव राजेश्वर ज्ञवाली र समितिका अध्यक्ष प्रदेश सांसद शाक्यले हस्ताक्षर गर्नुभएको छ । विभिन्न समितिमा काठमाडौका सांसद, विज्ञ, वडा अध्यक्ष, विभिन्न गुठी लगायतका संस्था राखिएको छ ।

२०७२ बैशाख १२ गते आएको शक्तिसाली भूकम्पले ध्वस्त भएको काष्ठमण्डप पुननिर्माण गर्ने विषयमा पटक पटक छलफल भएको थियो । स्थानीय जनताको सहभागितामा गठित काष्ठमण्डप पुननिर्माण समिति र काठमाडौं महहानगरपालिका बिच सहमति भएपछि काठमण्डप पुननिर्माण शुरु भएको हो ।

सहमति लगत्तै कामपाले पहिलो किस्ता बापत ५० लाख रुपिया हस्तान्तरण गरेको छ । करिब १९ करोड ७५ लाख रुपिया लागतमा पुननिर्माण हुने काष्ठमण्डप पुननिर्माण गर्न कामपा कार्यपालिकाको जेठ २४ गते बसेको बैठकले निर्णय गरे लगत्तै सम्झौता भएको हो । १२ बुदे सम्झौता अनुसार संस्कृति सम्पदा तथा पर्यटन मन्त्रालय, पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग समेतको राय परामर्शमा काठमाडौं महानगरपालिकाको रणनीतिक नेतृत्वमा सरकारी तथा नागरिक संघसंस्थाको सहयोग र सहभागितामा पुनर्निर्माण गरिने उल्लेख छ ।

देशको प्रतिकका रुपमा रहेको काष्ठमण्डप पुनर्निर्माण कार्य गर्दा काष्ठमण्डपको पुरातात्विक, ऐतिहासिक तथा प्राचिन महत्वलाई पूर्ववत् रहने गरी नक्सा डिजाइन, ड्रइङ गरी पुरातत्व विभागबाट स्वीकृत भएबमोजिम पुननिर्माण गर्नुपर्ने उल्लेख गरिएको छ । काष्ठमण्डप पुननिर्माण गर्न नेपाल सरकार ,प्रदेश सरकार तथा अन्य व्यक्ति संघसंस्था समेतबाट आर्थिक स्रोत जुटाउनुपर्ने व्यवस्था गरेको छ ।

पुननिर्माणको लागि आवश्यक पर्ने काठ टिम्बर कर्पोरेशनले उपलब्ध गराउनुपर्नेछ । पुरातत्व विभागको इष्टिमेट अनुसार करिब ९ करोड रुपिया बराबरको काठ लाग्ने छ । कामपा हनुमानढोका दरबार संरक्षण कार्यक्रम प्रमुख उदय पसखलले १२ करोड रुपिया बराबरको काठ लाग्ने जानकारी गराउनुभयो । उहाका अनुसार काष्ठमण्डप पुननिर्माण गर्न १३ हजार क्युफिट काठ लाग्नेछ । उक्त काठमध्य केही काष्ठमण्डपको पुरानै काठ प्रयोग गरिनेछ ।
कामपाका मेयर विद्या सुन्दर शाक्यले दुई वर्षभित्र काष्ठमण्डप पुनःनिर्माण कार्य सम्पन्न हुने बताउनुभयो ।
काष्ठमण्डप पुनःनिर्माण गर्न मेयर शाक्यको अध्यक्षतामा १६ सदस्यीय निर्देशक समिति , ७ सदस्यीय विज्ञ समुह, १० सदस्यीय सल्लाहकार समुह गठन गरिएको छ । समितिको निर्देशन अनुसार पुननिर्माण समितिले काम गर्नुपर्ने भएको छ ।

प्रथम पक्षबाट उपलव्ध भएको आर्थिक अनुदानको रकम खर्च भएको विस्तृत विवरण दोस्रो पक्षले प्रथम पक्षलाई उपलव्ध गराउनु पर्नेछ ।

पुनः आर्थिक अनुदान उपलव्ध गराउनुपूर्व अघिल्लो अनुदान रकम खर्च भएको विवरण प्रथम पक्ष समक्ष पेश गरिसक्नुपर्ने र दोस्रो पक्षले आवश्यकताका आधारमा काष्ठमण्डप पुनःनिर्माणलाई व्यवस्थित रुपमा कार्य सम्पादन गर्न विभिन्न विषयगत उपसमिति तथा सचिवालय गठन गर्नुपर्नेछ ।

यस्तै विषयगत उपसमिति र सचिवालयमा आवश्यकताका आधारमा विषय विज्ञ कर्मचारीहरु नियुक्त गर्न वा समिति÷उपसमितिका सदस्यहरुमध्येबाट पूर्णकालिन रुपमा सेवा लिने गरी विषेशज्ञ तोक्न सकिने व्यवस्था गरिएको सम्झौतामा उल्लेख छ ।