कृष्णउदास खनाल, वीरगन्ज । केही बर्ष अगाडि मात्रै बाराको प्रसौनीमा शुरु भएको पतञ्जलि आयुर्वेद प्रालि आन्तरिक विवादले गर्दा अहिले लफडामा परेको छ ।
विवाद चुलिएपछि भारतका चर्चित योगगुरु रामदेव बाबाले आफ्नो ब्रान्ड पतञ्जलि आयुर्वेद नाम परिवर्तन लागेको पाइएको छ । योगगुरु रामदेवको आग्रहलाई एनआरएन नेपालका पूर्वअध्यक्ष एवं प्रख्यात उद्योगपति डा. उपेन्द्र महतोले सहज मानेको कारण पतञ्जलि आयुर्वेद नाम परिवर्तन हुन लागेको हो । डा. महतोले नमानेको भए नेपालमा पतञ्जलि आयुर्वेद प्रालि डा. महतोले नै सञ्चालन गर्ने कानूनी अधिकार राख्थे ।
आन्तरिक सहमति जे भएपनि नेपालमा पतञ्जलि आयुर्वेद प्रालि डा. महतोको नाममा विधिवत दर्ता छ । नेपाल पतञ्जलि आयुर्वेद प्रालि सञ्चालनमा ल्याउने योगगुरु रामदेव बाबा र डा. महतोबीच सहमति बनेपछि अन्नपूर्ण टेक्सटाइल्स रहेको बन्द उद्योगको बैंक लगानी चुक्ता गरेर पतञ्जलि आयुर्वेद सञ्चालनमा आएको हो ।
सो उद्योग सञ्चालनमा आएपछि योगगुरु रामदेव बाबा वीरगन्जमा तीन दिने योग शिविरको बहानामा पतञ्जलि आयुर्वेद प्रालिको प्रचार गर्न आएका थिए । काठमाडौंमा योग शिविर गरेका रामदेव बाबाको वीरगन्जमा शिविरको एउटै मात्र उद्देश्य थियो, पतञ्जलि आयुर्वेदको प्रचारप्रसार । यद्यपि पतञ्जलि आयुर्वेद प्रालि बारा प्रसौनीको उद्घाटन महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीबाट गराइएको थियो ।
प्रसौनीमा पतञ्जलि आयुर्वेद सञ्चालनमा आउने हल्ला शुरु भएपछि नै रामदेव बाबाको नाम आएको थियो ।पतञ्जलिले ५ सय करोड रुपैयाँ खर्च गर्ने कुरो थियो । २५ करोडबाट शुरु पतञ्जलिमा अहिले २ सय करोड लगानी भइसकेको छ । यो लगानी बढ्ने सङ्केत पनि थियो तर अबका दिनमा त्यो सम्भावना भने न्यून भएको छ ।
डा. महतो र रामदेव बाबाबीच पुरानो सम्बन्ध रहेन । रामदेव बाबाले पतञ्जलि आयुर्वेदमा आफ्नो ९० प्रतिशत शेयर दाबी गरेपछि पतञ्जलिमा विवाद सृजना भएको हो । मागबमोजिमको शेयर नदिएपछि रामदेव बाबाले पतञ्जलि भारतबाट गुणस्तर मापनको बहानामा नेपाल अध्यक्ष बनाएर राकेश शर्मालाई पठाए अनि त्यहींबाट महतो र रामदेवबीच विवाद चुलिएको हो ।
विवाद यतिसम्म चुलियो कि अन्त्यमा रामदेव बाबाले आफ्नो पतञ्जलि ब्रान्ड मात्र भएपनि छाडिदिन आग्रह गर्नुपरेको श्रोतको भनाइ छ । अहिले डा. महतोको नाममा दर्ता रहेको पतञ्जलि आयुर्वेद नेपाल प्रालिको नाम परिवर्तन भएर नेपाल ग्रामो उद्योग नामाकरण भएको छ ।
पतञ्जलि भारतले नेपालमा उत्पादन शुरु भएपछि भारतबाट सोही उत्पादनहरू नेपाल पठाउन बन्द गरेको थियो । तर अहिले पुनः नेपाल ल्याउने काम शुरु पनि भइसकेको छ । पतञ्जलि ब्रान्ड हटे पनि त्यसले गर्ने एक सय २३ थरीका खाद्यान्न र कस्मेटिक सामानहरूको उत्पादन भने नेपाल ग्रामो उद्योगले गर्नेछ । तर पतञ्जलिको नामबाट भएको बजारीकरणमा नेपाल ग्रामो उद्योगको नाउँबाट ब्यवसाय फस्टाउन गाहे भएको भन्दै रामदेव तनावमै रहेको बताइएको छ ।











प्रतिक्रिया