तारको भरमा अडिएका पोल, आफैं पोल सार्दै उपभोक्ता

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा  । थाहानगरका स्थानीय धनराम घलानले फेसबुकमार्फत् विद्युत् प्राधिकरण पालुङ शाखालाई यसरी अनुरोध गरे–विद्युत् प्राधिकरणमा पर्याप्त फिल्ड कर्मचारी नहँुदा हामी स्थानीय आफैंले स्रोत साधनबिना तार तथा पोल सिफ्ट गर्न बाध्य छांै ।

प्राधिकरणलाई अनुरोध गर्न चाहन्छौं कि फिल्ड कर्मचारी नपुगेको गम्भीर अवस्थामा आफ्ना निकायमा कर्मचारी थप गर्नेतर्फ ठोस कदम चाल्न सक्नुपर्छ, होइन भने प्रत्येक गाउँमा तार तथा पोल सिफ्ट गर्न प्रयोग हुने सामग्री भ¥याङ र बेल्टको व्यवस्था गरियोस् । अन्यथा, यसबाट कुनै दुर्घटना हुनगए प्राधिकरण पालुङ शाखा जवाफदेही हुनुपर्नेछ ।

हुन पनि थाहा–८ का बिजुलीका अधिकांश पोल जीर्ण छन् । कति काठका पोल पूरै मक्किएर तारको भरमा अडिएका छन् भने कति त मक्किएर ढल्नै लागेका छन् । केही पोल सार्न र फेर्न पटकपटक प्राधिकरणलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएन ।

प्राधिकरणको बेवास्ताका कारण उपभोक्ताले आफैं पोल सार्न थालेका छन् । थाहा–८ का वडा अध्यक्ष टीकाराम रुम्बाले बैकल्पिक समाधानका उपाय नखोजिने हो भने पालुङ प्राधिकरणबाट प्रसारण हुने विद्युत्ले यस वर्ष पनि कुलेखानीको मुहान क्षेत्र रहेको थाहानगर अँध्यारोमा बस्न बाध्य हुने बताउनुभयो ।

‘त्यस्तो नहोस् भनी हामीले एकै स्वरले बोल्ने बेला आएको छ । त्यसका निम्ति जुनसुकै गाह्रो अप्ठ्यारो आइपरे पनि बेहोर्न हामी तयार छौं,’ उहाँले भन्नुभयो । उहाँका अनुसार धेरै प्रयासपछि १ सय वटा पोल प्राप्त भएको छ । तर, वडामा ३ सय जति पोल फेर्नुपर्ने अवस्था छ ।

प्राधिकरणले कर्मचारी नदिएपछि स्थानीय नै अगाडि सरेर पोल गाड्न लागेका छन् । करिब ८ सय ग्राहक रहेको वडामा महिनाका १० दिन पनि बत्ती उपभोग गर्न नपाइने अवस्था रहेको भन्दै अध्यक्ष रुम्बाले गुनासो गर्नुभयो ।

गत असार १९ गते थ्रीफेज लाइनको टेन्डर स्वीकृत भइसके पनि काम शुरु नभएकोमा उपभोक्ताले गुनासो गरेका छन् । पालुङ बितरण केन्द्रले आफ्नो कार्यक्षेत्रमा पर्ने काम तदारुकतासाथ नगरे आन्दोलन गर्न पछि नपर्ने वडा अध्यक्ष रुम्बाले चेतावनी दिनुभएको छ । नगर मेयर लवशेर बिष्टले भन्न्ुभयो–धेरै पटक भनियो । हैरान पा¥यो प्राधिकरणले ।