काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न चुडामणि उप्रेती ‘गोरे’ सहित तीन जनाले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ ।
विभागका अनुसार सुन तस्करीमा संलग्न अभियुक्तहरु गोरे, भुजुङ गुरुङ र छिरिङ वाङगेललाई सोमबार विभागमा झिकाएर सम्पत्ति छानवीन अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।
सुन तस्करीमा संलग्न जोकोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउने विभागले जनाएको छ । गोरे, भुजुङ र छिरिङलाई सम्पत्ति छानबिनको क्रममा विभागले सफाइको मौका समेत दिने तयारी गरेको छ । अभियुक्तहरुलाई आवश्यकता अनुसार विभागमा झिकाएर सफाइको मौका दिनसक्ने बताइएको छ ।
विभागले सम्पत्ति छानवीन अनुसन्धानका क्रममा अभियुक्तहरु गोरे, भुजुङ र छिरिङविरुद्ध अदालतमा दायर भएको मुद्दाको प्रमाणलाई पनि आधार बनाउने स्पष्ट पारेको छ । गैरकानुनी ढंगबाट आर्जन गरिएको सम्पत्ति छानबिनका लागि विभागले सम्वद्ध पक्ष सबैसँग संलग्न रहेर अनुसन्धान प्रक्रियालाई अघि बढाउने तयारी गरेको छ ।
विभागले सोमबार मोरङ कारगार र सुनसरीको झुम्का कारगारमा रहेका गोरेसहित तीन जना अभियुक्तलाई आवश्यक अनुसन्धानका लागि झिकाएको थियो । पछिल्लो समय ३३ किलो सुन तस्करीमा पनि संलग्न भएको पुष्टि भएपछि उनीहरु पक्राउ परेका हुन् ।
२०६९ सालदेखि सुन तस्करी गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ उनको साला नाता पर्ने डा. डेविट भन्ने छिरिङ वाङदेल र गोरेले एउटै चेन बनाएर सुन तस्करी गरेको निश्कर्ष निकाल्दै उनीहरुविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।











प्रतिक्रिया