चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले बजेट मत तान्ने खालको नभएर राष्ट्रिय अर्थतन्त्रलाई विस्तारै सन्तुलनमा ल्याउने खालको भएको बताएका छन् ।
प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवन शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद समेत रहेको दाहालले भने, ‘जनमुखी योजना धेरै आउँदैछन्, पहिलो गियर लगाइएको छ र उडान भर्दै जान्छ ।’
राष्ट्रिय जनता पार्टी (राजपा) सरकारमा आइहाल्ने निर्णय भएको छैन छलफल चलिरहेको छ उनले भने । फौज्दारी अभियोग लागेका सांसद्लाई नियमावलीमा छुट दिइए पनि ऐनमा निलम्बन नै शब्द राख्ने कुरामा दलबीच सहमति भइसकेको पनि अध्यक्ष दाहालले बताए । ‘जनतालाई कुरा बुझाउन नसक्दा नियमावलीको विषयमा मतभेदजस्तो देखिए पनि नियमावलीको भाषा निलम्बनबाहेक अरु अर्थ लाग्ने खालको छैन,’ उनले भने ।
काम नगर्ने ठेकेदारलाई सरकारले कडाइपूर्वक कारवाही गर्ने प्रष्ट पार्दै अध्यक्ष दाहालले भने, ‘म जसको घरमा बसेको छु त्यो घरको मान्छेले पनि गल्ती गर्यो भने कारवाही हुन्छ ।’ सो सन्दर्भमा मिडियामा आएका विषयमा असन्तुष्टि व्यक्त गर्दै कहिलेकाहीँ मिडियामा उल्टोपाल्टो समाचार आउने गरेको बताए ।
उनले भने, ‘मिडियाले आफ्ना लागि कोड अफ कन्डक्ट आफैं बनाउनुपर्ने आवश्यकता भएको छ । तपाईंहरु आफैले कोड अफ कन्डक्ट बनाउनुस । प्रेसको पनि मूल्य, मान्यता र आचारसंहिता हुन्छ, त्यो कुरा प्रेसले नै निधो गरोस् ।’
अध्यक्ष दाहालले कार्यकारी राष्ट्रपति अहिलेको कार्यसूची नभएको बरु सुशासन, विकास र समृद्धि रहेको बताए । एउटै पार्टीका सभामुख, उपसभामुख तथा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष हुनुहुन्न भन्ने विषयको अर्को प्रसंगमा उनले सभामुख, उपसभामुख हुनुभन्दा अघि उनीहरु पार्टीमा रहे पनि अहिले कुनै पनि पार्टीमा नरहेको बताए ।











प्रतिक्रिया