कृष्णउदास खनाल, वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले लट्री परेको भन्दै ठगी गर्ने गिरोहलाई पत्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले वीगन्ज महानगरपालिका १८ नगवा बस्ने १८ वर्षीय अक्षयकुमार चौरसिया, महानगरकै वडा नं १६ का १८ वर्षीय युवराज पासवान, वडा नं १९ बस्ने २२ वर्षीय वीरनारायण चौरसिया र महानगरपालिका कै वडा नं २ रेल्वे रोड बस्ने २२ वर्षीय राहुलकुमार राउतलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ परेकाहरु ठगी धन्दाका सहयोगी मात्रै भएको प्रहरीले बताएको छ । उनीहरुले ह्वाट्सएप, इमो, भाइबरको प्रयोग गरी सोझासाझा नागरिकलाई ठग्ने गरेको जानकारी दिएको छ ।
२५ देखि ३५ लाखसम्मको लट्री परेको छ भन्दै प्रलोभनमा पारेर ठग्ने गरेको पाइएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । पुरस्कार लिनका लागि लाग्ने कर वापतको रकम सम्बन्धित सरकारलाई अग्रिम भुक्तानी गर्नुपर्ने भनी फकाइफुलाई गरेर उनीहरुले आईएमी र बैंकमार्फत पैसा पठाउन लगाइ ठग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।उनीहरुको साथबाट प्रहरीले नगद १ लाख ५ हजार, मोबाइल ४ थान, आइएमई को भौचर ७ थान, मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, विभिन्न बैंकका चेक तथा एटिएमहरुसमेत बरामद गरेको छ ।
प्रहरी स्रोतका अनुसार मुख्य अभियुक्त (भारतीय, पाकिस्तानी) ले ठगी गरेको रकम संकलन गर्नको लागि पक्राउ परेका व्यक्तिहरु मध्यका वीरनारायण चौरसियालाई निजको मोबाइलमा आइएमई कोड र रकमको विबरण पठाइ रकम झिक्न लगाउने गरेको तथ्य खुलेको छ ।परिचय पत्र प्रयोग गरी रकम झिकेवापत चौरसियालाई प्रतिदिन २ देखि ४ हजार रुपैयाँसम्म दिने गरेको तथ्य खुलेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ढकालले बताए ।
‘विरनारायण चौरसियाले भारतीय र पाकिस्तानी अभियुक्तहरुसँग सम्पर्क गरी उनीहरुले भने अनुसार अन्य अभियुक्तहरुको परिचय पत्र प्रयोग गरी मोटो रकम झिकी प्रतिदिन १ लाखसम्म भारतको रक्सौलबाट दिएको खातामा जम्मा गर्ने गरेका रहेछन्,’ उनले भने । पटक पटक यस्ता गलत कुराहरुको पछाडी नलाग्न पर्सा प्रहरीले आग्रह गरेपनि स्थानीयहरु भने अझै सचेत नभएकोमा प्रहरीले चिन्ता जनाएको छ ।











प्रतिक्रिया