बेनेजिरकी छोरी आसिफा चुनावमा उठ्ने

0
Shares

कराँची, (एजेन्सी)
पाकिस्तानकी पहिलो महिला प्रधानमन्त्री बेनेजिर भुट्टो र पूर्वराष्ट्रपति आसिफ अली जरदारीकी छोरी आसिफा भुट्टो जरदारी आगामी महिना हुन गइरहेको चुनावी प्रतिस्पर्धामा उत्रिन सक्ने जनाइएको छ। आसिफा कम्बर–शाहदादकोट सीटबाट नामांकन भर्न सक्ने बताइएको छ। डन न्युजले पार्टीका एक नेतालाई उद्धृत गर्दै आसिफाले एकभन्दा धेरै सिटमा उम्मेद्वारी पेस गर्न सक्ने तर कराँचीबाट भने उनले पक्का लड्ने उल्लेख गरेको छ। आसिफाका दाजु तथा बेनजिरका छोरा बिलावल भुट्टो र पिता आसिफ अली जरदारीले पनि लरकाना र नवाबशाह सिटबाट चुनाव लड्ने घोषणा गरेका छन्।

यसअघि पाकिस्तान पिपल्स पार्टीका महासचिव फरहातुल्लाह बाबरले बिलावलका २ बहिनीमध्ये कोही पनि यस पटकको चुनाव नलड्ने जानकारी दिएका थिए। पाकिस्तान पिपुल्स पार्टीले शुरूमै पूर्वराष्ट्रपति जरदारी र बिलावल र आसिफाका लागि सिट तय गरेको थियो।यसै वर्ष फेब्रुअरीमा आफ्नो २५आंै जन्मदिन मनाएपछि आसिफा चुनावमा उम्मेद्वार हुन योग्य भएकी थिइन्। पाकिस्तानमा जुलाई २५ मा चुनाव हुन गइरहेको छ।