‘सिंहसत्तलमा पसल राख्न देउ’

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
काष्ठमण्डप व्यापार समाजले एक हप्ताभित्र सिंहसत्तल मन्दिरमा रहेका १५ वटा पसल हस्तान्तरण नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। समाजले सोमबार पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो। सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर प्राप्त गरेका पसलहरू आफूहरूले एक महिनादेखि नपाएको उनीहरूको गुनासो छ। संस्थाका संरक्षक राजेश मानन्धरले पसलको ६ महिनाको अग्रिम भाडासमेत तिरेको स्थितिमा झुलाएर राखेकोमा खेद व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो– ‘हामीसँग गुठी संस्थानले ६ महिनाको अग्रिम भाडा उठाइसकेको छ, आज आएर काठमाडौं महानगरका मेयरले अनेक बहाना बनाएर हामीलाई दुःख दिने काम गरिरहनुभएको छ।’
संस्थानसँग आफूलाई त्यो पसल भएको जग्गा चाहिने भनेपछि यो समस्या उत्पन्न भएको हो, हामीले समस्या कसरी समधान गर्ने ? के गर्ने भनेर मेयरज्यूलाई भेट्न गएका थियौं, उहाँले समाधानका कुरा गर्न छाडेर समस्या झन बल्झाउने खालका कुराहरू गर्नुभयो।’
त्यस्तै काष्ठमण्डप व्यापार समाजका अध्यक्ष शरणकुमार बानियाँले प्रक्रियामार्फत प्राप्त गरेको अधिकार नपाएसम्म आन्दोलनमा उत्रिने स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो– ‘हामीले कानुनी मान्यता पूरा गरेर ती पसलहरू पाएका हौं, २०७४ कात्तिक २ गते विज्ञापन गरिएको र मंसिर १० गते बोलपत्र आ≈वान गरिएको थियो, त्यसमा २९ जनाले प्रतिष्पर्धामा भाग लिएका थिए, त्यसमध्ये हामी १५ जनाको नाम निस्कियो, सिंहसत्तल मन्दिरको भूइँतलामा रहेका १५ वटा पसलको मासिक ४ लाख ८० हजार भाडा उठाउने सहमतिका आधारमा हामीले सामानहरू किन्यौं, आज आएर नदिने भनिएको छ, हाम्रा सामानहरू गोदाममा छन्।’

गुठी संस्थानका निमित्त कार्यालय प्रमुख वैकुण्ठप्रसाद रेग्मीले गुठी संस्थानको मौखिक आदेशअनुसार बोलपत्र आ≈वान गरेर ठेक्कामा दिइएका पसलहरू उपभोगकर्तालाई हस्तान्तरण गर्न नसकिएको स्वीकार गर्नुभयो। ‘यो आन्दोलन गरेर समाधान हुने विषय होइन। गुठी संस्थानले अर्को आदेश जारी नगरेसम्म यो समस्या समाधान हुँदैन। महानगरले आवश्यक परेको जानकारी दिएपछि उक्त निर्णय रद्द गर्नुपरेको हो। त्यसबाट पर्न गएको क्षतिलाई समेत सम्बोधन हुने गरी हामी समस्या समाधान गर्छौं’ –उहाँको भनाइ थियो।