मन्दिर परिसरमा डोजर चलाइएपछि तनावग्रस्त

0
Shares

सुनील महर्जन, ललितपुर
सडक विस्तारको नाउँमा पुरातात्विक र ऐतिहासिक महŒवका सम्पदा क्षत्विक्षत् पार्न खोजेको भन्दै स्थानीय प्रदर्शनमा उत्रिएपछि ललितपुर लगनखेल क्षेत्र आइतबार तनावग्रस्त र≈यो।

लगनखेल–सातदोबाटो सडक विस्तार गरेर २२ मिटर बनाउन ललितपुर महानगरपालिका–१२ मा अवस्थित बटुक भैरव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गर्न फेरि डोजर चलाइएको थियो। यसअघि बिहीबार पनि मन्दिरको पर्खाल भत्काउन खाजेपछि स्थानीय आक्रोशित भएका थिए।

उनीहरूले लगनखेलको व्यस्त सडकमा बसेर सडक विस्तारको नाउँमा ऐतिहासिक मन्दिर परिसरको जग्गामा अतिक्रमण गर्न खोजेको भन्दै नाराबाजी गरे। प्रदर्शनका क्रममा केहीबेर वातावरण तनावग्रस्त बनेको थियो। प्रहरीलाई स्थिति नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो।

काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार लगनखेल–सातदोबाटो सडक विस्तार गरेर २२ मिटर बनाउन डोजर चलाइएको हो। एउटा कुनाको जग्गा करिब साढे ४ फिटसम्म मासिने अवस्था रहेको स्थानीय बताउँछन्। यही मापदण्डमा सडक विस्तार गर्ने हो भने बटुक भैरवको आधाआधी जग्गासँगै पुराना घर एवं संरचना पनि मासिने सम्पदा अभियन्ता सुरज महर्जन बताउँछन्।

यसैबीच नाराबाजी गर्दै विभिन्न स्थानमा प्रदर्शन गरेका स्थानीयले पुल्चोकस्थित महानगरपालिका परिसर पुगेर प्रमुख महर्जनसहित जनप्रतिनिधिलाई सम्पदा भत्काउन लाग्दा पनि चुपचाप बसेको भन्दै असन्तुष्टि पोखे। उनीहरूले महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई खोइ त स्थानीय सरकार? भन्ने प्रश्न तेस्र्याएका थिए। बटुक भैरव परिसरको जग्गा अतिक्रमण खोज्दा पनि महानगरपालिका चुपचाप बसेको स्थानीयको आरोप रहेको छ। स्थानीयले हिजो प्रमुख महर्जनसमक्ष ज्ञापनपत्र बुझाउँदै स्थानीयले भने– ‘ऐतिहासिक मन्दिर भत्काउँदा मयेर, उपमेयर चुपचाप, खोइ त स्थानीय सरकार?’

ज्ञापनपत्र बुझ्दै प्रमुख महर्जनले प्राधिकरणले डोजर लिएर मन्दिरको पर्खाल भत्काउनेबारे आफूलाई केही जानकारी नै नभएको बताउनुभयो। ‘प्राधिकरणले मसँग केही कुरा गरेको छैन। अब म सरोकारालालाई बोलाएर सम्पदा क्षेत्रको संरक्षण गर्न पहल गर्नेछु। बटुक भैरव हाम्रो सम्पदा हो, सम्पदा मासिने गरी डोजर चलाइने छैन’ –प्रमुख महर्जनले भन्नुभयो।

बटुक भैरव मन्दिरसहित ३ वटा पुरातात्विक महŒवका सम्पदा छन्। सडक विस्तारका नाममा भएको अतिक्रमणलाई स्थानीयले विकासका नाउँमा भएको विनाशको संज्ञा दिएका छन्। मन्दिरको पारिपट्टि सेनाद्वारा सञ्चालित पेट्रोल पम्पको खाली जग्गा छ। त्यही जग्गालाई सडक विस्तारको विकल्प बनाउन सकिने स्थानीय बताउँछन्। त्यो विकल्प हुँदाहुँदै मन्दिरमाथि खनिएको स्थानीय बताउँछन्।

स्थानीय मन्दिरसँगै पुराना मौलिक घर पनि संरक्षण होेस् भन्ने चाहन्छन्। बिनाक्षतिपूर्ति लालपुर्जा भएको स्थानीयको घरबास भत्काउन लागेकामा उनीहरू सशंकित देखिन्छन्। लगनखेलको सो क्षेत्र लामो समयदेखि अतिक्रमणको सिकार हुँदै आएको छ। कुनै समय २ सय रोपनीभन्दा फराकिलो यो क्षेत्र विभिन्न संस्थाबाट अतिक्रमणमा पर्दै आएको छ।