टेलिकमको एप नयाँ स्वरूपमा

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ। नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ।

यो एपमा लग इन गर्ना साथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरिद गरेको भए सोबारे जानकारी प्राप्त गर्न सकिन्छ। पछिल्लो अवस्थामा विभिन्न प्रकारका प्याकेज खरिद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरिद गर्नका लागि यो एपबाट सहज हुने कम्पनीको भनाइ छ।

त्यसैगरी एफएनएफ सर्भिसबाट नेपाल टेलिकमका आफूले चाहेका ५ वटा नम्बरमा सस्तो दरमा कल गर्नका लागि सेवा सुचारु गर्न सकिन्छ। विभिन्न सेवाको लागि आवश्यक रकम रिचार्ज गर्न र जीएसएम प्रिपेडबाट ब्यालेन्स ट्रान्सफर गर्न समेत यसबाट सहज हुन्छ। पिन कोड राखेर वा रिचार्ज कार्ड स्क्यान (स्क्यान एन्ड्रोइडमा मात्र हुने) गरेर पनि यसबाट रिचार्ज गर्न सकिन्छ। यो एपमार्फत आफ्नो मोबाइलबाट नेपाल टेलिकमको कुनै अर्को मोबाइलमा विभिन्न प्याकेज गिफ्ट दिन पनि सकिन्छ।

साथै रिचार्ज कार्डबाट कम्पनीका विभिन्न सेवाको बिल भुक्तानी पनि यही एपमार्फत गर्न सकिन्छ। कम्पनीको फेसबुक लगायतका सोसल मिडियासमेत यहीँबाट प्रयोग गर्न सकिन्छ।

यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बर डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न पनि सकिन्छ। उक्त एपमा कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाको महशुल दरबारे जानकारी लिन पनि सकिन्छ। भविष्यमा अन्य सेवा पनि थप गर्दै लैजाने योजना रहेको छ।

गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरेपछि यो एप चलाउन सकिन्छ।