गोरखा पुगी फर्किए देवकोटा

0
Shares

गोरखा, (नेस)
वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटा शनिबार पुख्र्यौली घर गोरखाको पालुङ्टार नगरपालिका–४ पण्डित गाउँ आएर शनिबार नै काठमाडौं फर्किनुभएको छ। न्युरो अस्पतालमा उपचार गराइरहनुभएका देवकोटा हिजो शनिबार दिउँसो अस्पतालबाटै हेलिकोप्टरमा जन्मघर आउनुभएको थियो।

उहाँ आफैले जन्मघर गोरखा जाने इच्छा व्यक्त गर्दै सिस्नेपानी धाराको पानी खान्छु भनेपछि परिवारले उहाँलाई पण्डित गाउँ ल्याएको जनाएको छ। ‘हेलिकोप्टर जब घरनजिकै ल्यान्ड भयो’, स्थानीय आशीष देवकोटाले भन्नुभयो– ‘वारिपारि गाउँका सबै गाउँले भेला भए। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरे।’

दुई घण्टा समय घरमा बिताउनुभएका डा. देवकोटाले जन्मघरको पिँढीमा सुस्ताउँदै छोरी शिलुले सिस्नेधाराबाट ल्याएको पानी खाएर प्यास मेट्नुभएको थियो।अस्पतालबाट सीधै पण्डित गाउँ ल्याइएका डा. देवकोटालाई त्यति बेला पनि अक्सिजन नै लगाइराखिएको थियो। ‘उहाँ पिँढीमा बस्नुभयो। आफन्त र परिवारका सदस्यहरूसँग केही बोल्नुभयो अरू कोहीसँग बोल्नु भएन। उहाँले हेरी मात्र रहनुभयो।’ –आशीषले भन्नुभयोे। घरनजिकै हेलिकोप्टर ल्यान्ड भएपछि करिब १० मिनेट स्टेचरमा बोकेर चिकित्सकलगायत परिवारका सदस्यले उहाँलाई घरसम्म पु¥याएका थिए।

पित्तथैलीको क्यान्सरका कारण गम्भीर बिरामी हुनुभएका वरिष्ठ न्युरो सर्जन डा. देवकोटालाई विभिन्न देशका वरिष्ठ चिकित्सकहरूले सम्भव भएसम्मको सम्पूर्ण उपचार विधि अपनाए पनि ठीक नभएपछि अहिले आयुर्वेदिक उपचार चलिरहेको छ।