सुन्दर बस्तीको कल्पना एक बस्ती : एकै रङका छाना



नानीराम नेपाल, सिन्धुपाल्चोक
भूकम्पपछिको पुनर्निर्माणलाई अवसरका रूपमा लिँदै सुनकोसी गाउँपालिकाको १ नम्बर वडा कार्यालयले सुन्दर बस्ती विकासको शुरूआत गरेको छ। वडा कार्यालयले सुन्दर बस्ती निर्माणको कल्पना गर्दै रंगिन बस्ती निर्माणको शुरूआत गरेको हो।

वडाका टोलबस्तीलाई विभिन्न ब्लकमा विभाजन गरी ब्लकअनुसार छानोको रङ निर्धारण गरेर सोहीअनुसारका जस्तापाता प्रयोग गर्न वडा कार्यालयले निर्देशन दिएपछि यतिबेला भूकम्पपीडितले एउटा बस्तीमा एकै किसिमका रंगिन छानाले घर छाइरहेका छन्। एउटा बस्तीमा उस्तै रङका जस्तापाताले घर छाइएका छन्।

पुनर्निर्माणलाई सहज बनाउन वडा कार्यालयले विभिन्न ६ वटा ब्लक बनाएर पुनर्निर्माण समिति नै निर्माण गरी ब्लकअनुसार छानोको रङ पनि छानेर सोहीअनुसार छानो छाउने व्यवस्था मिलाएपछि स्थानीयले साथ दिएको वडाध्यक्ष नेत्र कार्कीले बताए। ‘पुनर्निर्माणलाई सुरक्षितमात्र हैन हामीले सुन्दरताका दृष्टिले पनि हे¥यौं र बस्तीमा एकै रङका छानो छाउने व्यवस्था मिलायौं’, वडाध्यक्ष कार्कीले भने– ‘भूकम्पपीडित स्थानीयले साथ दिनुभयो र आज यस वडाको रूप फेरिँदैछ।’

टोल–टोलमा घरका छानोमा एकरूपता ल्याउँदै सुन्दर बस्ती निर्माणका लागि वडाले पहलकदमी मात्र लिएन, वडाको योजनामा साथ दिन भन्दै जस्तापाता खरिदमा पनि वडा कार्यालयले आर्थिक सहायता प्रदान गरेको छ। वडाले तोकेको रङअनुसारको छानो छाउनेका लागि प्रतिघर १२ हजारका दरले आर्थिक सहयोग गरेको वडाध्यक्ष कार्कीले बताए।

‘उहाँहरूले भनेअनुसारको जस्तापाता ल्याउनुहुन्छ, बिल पेस गरेपछि हामीले १२ हजार रुपियाँ प्रदान गर्छौं’ –उनले भने। सुन्दर बस्ती निर्माण गरी ठोकर्पाको पहिचान स्थापित गर्नका लागि वडाले यस्तो योजना ल्याएको उनले बताए। केही स्थानीयले भने आफुखुसी रङ छनोट गरी छाना छाएको उनले सुनाए।

कमजोर आर्थिक अवस्था भएकालाई समस्या
टोलैपिच्छे एकै रङका जस्तापाताले छानो छाउँदा बस्ती राम्रो देखिने भए पनि कमजोर आर्थिक अवस्था भएका स्थानीयलाई भने समस्या परेको छ। वडाले भनेअनुसारको जस्तापाता किन्ने पैसा छैन, संघसंस्थाले राहतमा दिएका जस्तापाताले काम चलाउन नपाइने भएपछि साथमा पैसा नहुनेहरू समस्यामा परेका हुन्।

कम्तीमा ४० हजारको भ्याटबिल वडा कार्यालयमा पेस गरेपछि मात्र वडाले १२ हजार रुपियाँ उपलब्ध गराउँदै आएको छ। ‘टोलमा एउटै रङका छाना छाउनु राम्रो कुरा हो, तर आर्थिक अवस्था कमजोर भएकालाई समस्या परिरहेको छ’, एक स्थानीयले भने– ‘संस्थाले दिएका जस्तापाता थन्क्याएर राख्नुपर्नेभयो, नयाँ रंगिन जस्ता किन्न ५० हजार घटीले पुग्दैन।’

प्रतिक्रिया दिनुहोस्