दाङ । दाङको विमान सेवा फेरि बन्द भएको छ ।
जनप्रतिनिधिहरु निर्वाचित भएपछि तुलसीपुर उपमहानगरपालिकाले २०७४ पुस १९ गते बाजागाजासहित पहिलोपटक समिट एयरसँग सम्झौता गरी विमान सञ्चालन गरेको थियो ।
स्थानीय तहमा निर्वाचन अगाडी तुलसीपुर उद्योग वाणिज्य संघले केही समयसम्म निजी विमान कम्पनीसँग समन्वय गरी विमान सेवा सञ्चालन गरेको थियो । पटक पटक सञ्चालन र बन्द हुँदै आएको विमान सेवा बन्द भएपछि यहाँका स्थानीयवासीले फेरि नेपालगञ्जबाटै विमान सेवा लिनुपर्ने बाध्यता भएको स्थानीयवासी पवन बुढाथोकीले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका र समिट एयरबीच गत पुसमा प्रतियात्रु रु सात हजार २०० भाडा लिने सहमति भएको थियो । सोही सहमतिअनुसार १९ पुसमा समिट एयरले पहिलोपटक दाङको टरीगाउँ हवाईमैदानबाट उडान भरेको थियो । इन्धनको मूल्य वृद्धि भएको भन्दै समिट एयरले प्रतियात्रु रु दुई हजार ६८० रुपैयाँ एकतर्फीरुपमा भाडामा वृद्धि गरेपछि तुलसीपुर उपमहानगरपालिकाले समन्वय गर्न छोडेको छ ।
भाडा वृद्धिसँगै यात्रु पाइन छोडेपछि गएको जेठ १३ र २० गते समिट एयरले उडान भर्न सकेन । समिट एयरले हप्तामा आइतबार र बुधबार दुईपटक उडान भर्ने सहमति गरे पनि पछिल्लो समय आएर आइतबारमात्रै उडान भर्दै आएको थियो ।











प्रतिक्रिया