बालगोपाल राष्ट्रिय प्रशिक्षकमा

0
Shares

काठमाडौं, (नेस)
अखिल नेपाल फुटबल संघ (एन्फा) मा आएको नयाँ नेतृत्वले राष्ट्रिय पुरुष फुटबल टोलीमा नयाँ प्रशिक्षकका रूपमा बालगोपाल महर्जनलाई नियुक्त गरेको छ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले नेपाल समाचारपत्रलाई सोको जानकारी गराएका हुन्। यसअघि राजुकाजी शाक्य राष्ट्रिय प्रशिक्षक हुँदै आएकोमा उनको स्थानमा अहिले महर्जनलाई प्रशिक्षक बनाएको छ। महर्जनले २०७३ सालमा बंगबन्धु कप जिताएर नेपाली फुटबलमा ऐतिहासिक सफलता दिलाएका थिए। यो उपाधि नेपालले २२ वर्षपछि फुटबलमा जितेको ठूलो उपाधि थियो।

तर यसपछि एन्फासँग मतभेद भएपछि महर्जनलाई एन्फामा रहेको अघिल्लो नेतृत्वले प्रशिक्षकबाट हटाएर शाक्यलाई भूमिका दिएको थियो। महासचिव तुलाधरले महर्जनलाई राम्रो गर्न सक्ने भनेर नै ल्याएको बताए। उनले भने– ‘बंगबन्धु कप जिताएको वहाँको कुरा एन्फासँँग मिलेन र राष्ट्रिय प्रशिक्षक हुन सकेन। अहिले वहाँलाई एन्फाले जिम्मा दिएको छ।’

महर्जनले सन् २०१६ मा ए लाइसेन्स प्राप्त गरेका हुन्। महर्जनले आफ्नो भूमिका राम्ररी निभाउने नेपाल समाचारपत्रलाई बताएका छन्। उनले भने– ‘फुटबलका लागि भनेर नै हामी लागिरहेका छांै। अहिले मौका आएको छ फेरि राष्ट्रका लागि केही गर्न। यसलाई सदुपयोग गर्नेछु।’ तुलाधरका अनुसार प्रमुख प्रशिक्षकमा जापानी ग्योटुकी कोजु नै रहने बताएका छन्। उनले भने– ‘वहाँको एन्फासँग सम्झौता आगामी एक वर्ष रहेको छ। वहाँको पद रहिरहनेछ। आगामी प्रतियोगितासम्म वहाँले नै हेर्नुपर्ने हुन्छ।

यसैगरी एन्फाले महिला राष्ट्रिय टोलीका लागि हरि खड्कालाई प्रशिक्षक नियुक्त गरेको छ। खड्का नेपालका पूर्वकप्तान र चर्चित स्ट्राइकरसमेत रहिसकेका छन्। खड्का पनि अघिल्लो एन्फाको नेतृत्वसँग मतभेद भएर एन्फाबाहिर रहेका थिए। नयाँ नेतृत्वसँगै एन्फामा उनको पुनरागमन भएको छ।