स्कुलमा विश्वकपको झल्को

0
Shares

सरोज यादव, विराटनगर

संसारमा खेलकै महाकुम्भ मानिएको विश्वकप फुटबल प्रतियोगिता शुरु हुन केही दिनमात्रै बाँकी छ। तर नेपालमा पनि विश्वकपको रौनक शुरु भइसकेको छ। यसैक्रममा इटहरीको एक विद्यालयले फुटबलमैत्री शिक्षा अभियान सञ्चालन गरेको छ। विद्यार्थीमा खेलकुदप्रति उत्साह जगाउन र विश्वकप फुटबलबारे जानकारी दिन इटहरीको एक विद्यालयले फुटबलमैत्री शिक्षा अभियान सञ्चालनमा ल्याएको छ।

इटहरी–२ स्थित पशुपति इंग्लिस बोर्डिङ स्कुलले एक महिनासम्म विश्वकप फुटबलसँग सम्बन्धित अतिरिक्त कक्षा सञ्चालन गर्ने भएको हो। शनिबारबाट शुरु भएको अभियानपछि विद्यालयले पठनपाठनसँगै फुटबलसँग सम्बन्धित जानकारी पनि दिइने विद्यालयले जानकारी दिएको छ। विद्यालयले प्रांगणमा विश्वकपमा सहभागी हुने राष्ट्र र उनीहरूको झण्डा पनि राखिएका छन्।

विश्वकप फुटबलमा भएका खेलसहित यसको विगत र खेलकुदको महत्व पनि बताइने पशुपति बोर्डिङ स्कुलका प्रिन्सिपल सुमित थापाले बताउनुभयो। विद्यार्थीले साप्ताहिक रूपमा तयार पार्ने भित्तेपत्रिकामा पनि विश्वकपको विषयमा सामग्री तयार पार्नेछन्। विद्यार्थीहरूले प्रत्येक शुक्रबार आफूलाई मन परेको देश र त्यस देशको पोशाक लगाएर विद्यालय आउन छुट पनि दिइएको छ।

विद्यालयले फुटबलसम्बन्धी शिक्षा शुरु गरेपछि विद्यार्थीहरू पनि उत्साहित बनेका छन्। फुटबलको महाकुम्भ नजिकिँदै गर्दा सञ्चालित यस्तो अभियानले आफूहरूमा सकारात्मक प्रभाव पर्ने विद्यार्थीहरू बताउँछन्। पछिल्लो समय नेपालमा खेलप्रति युवाको आकर्षण बढ्दै गएको छ। विद्यालय तहदेखि नै खेलप्रति जागरुक बनाउन विद्यालयले शुरु गरेको अभियान निकै नै सकारात्मक छ।