विप्लवका जनसरकार प्रमुखले राजीनामा दिए

0
Shares

बाँके । नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका बाँके जनसरकार प्रमुख देवबहादुर रोकायाले पार्टी परित्याग गरेका छन् ।
पार्टीको क्रियाकलापप्रति चित्त नबुझेको भन्दै जनसरकार प्रमुख रोकायाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । नेपालगञ्ज व्यापार व्यवसाय गरेर बसेका जनसरकार प्रमुखलाई राज्यले पटक–पटक समातेर थुनेको थियो । पछिल्लो पटक बैशाख २२ गते समातेको प्रहरीले जेठ १३ गते छोडेको थियो ।
जनसरकार प्रमुख रोकायालाई हजार रुपैया धरौटीमा तारेखमा छोडिएको छ । त्यसअघि चुनावका बेला १९ दिन प्रहरीले थुनेको थियो । ‘जिल्ला इन्चार्जको नेतृत्वमा गतिविधिहरु हुन्छन्, मलाई आएर प्रहरीले समातेर लैजान्छ, कति थुनिने, रोकायाले भन्नुभयो, अब कुनै पनि पार्टीमा नरहेर स्वतन्त्र रुपमा बस्छु ।’
विप्लव नेतृत्वको माओवादीले चुनाव विरोध, त्यसपछि जनप्रतिनिधि निर्वाचितलाई राजीनामा गराउनेदेखि एनसेल टावरहरुमा बम विष्फोट गराएपछि राज्यले कडाई गरेको छ । केन्द्रले अहिले पनि जनप्रतिनिधिलाई राजीनामाको दबाब बढाउन जिल्लामा निर्देशन दिएको छ । बाँकेको इन्चार्ज रामलाल विक छन् ।
सल्यानीबंगलामा पसल गरेर बसेको रोकायलाई जिल्लामा अपराधिक गतिविधि हुने बित्तिकै प्रहरी आएर लैजाने गरेका थिए । ‘म पसलमा बसेको हुन्छ, वडा प्रहरी कार्यालय नजिकै पसल रहेको छ । प्रहरी आउँछ समातेर लैजान्छ, रोकायाले भन्नुभयो ।
विप्लव माओवादीमा आर्थिक विचलन पनि रहेको छ । नेताहरुले चन्दा उठाउने र पार्टीमा नदेखाउने प्रवृत्ति रहेको छ । यस विषयमा भने रोकायाले बोल्न मान्नु भएन ।