बाटो गुणस्तरीय नबनाए फोहोर फाल्न दिन्नौं

0
Shares

नेपाल समाचारपत्र
नुवाकोट
ओखरपौवाका स्थानीयबासीको अवरोधका कारण शुक्रबार बिहानदेखि काठमाडौं उपत्यकाको फोहोर विसर्जन हुन छोडेको छ।

काठमाडौंको तीनपिप्लेदेखि फोहोर विसर्जन हुँदै आएको सिसडोलसम्म भइरहेको सडक कालोपत्रेको काम गुणस्तरीय नभएको भन्दै फोहोर बोकेर आएका गाडी स्थानीयबासीले रोकेको प्रहरी चौकी ओखरपौवाका प्रमुख प्रहरी सहायक निरीक्षक पशुपति पाठकले जानकारी दिनुभयो। उहाँका अनुसार स्थानीयबासीको अवरोधले काठमाडौंबाट फोहोर बोकेर आएका करिब १ सय वटा गाडी तीनपिप्ले क्षेत्रमा नै रोकिएका छन्।

काठमाडौं महानगरपालिका मार्फत ठेक्का लगाएर तीनपिप्लेदेखि सिसडोलसम्मको करिब ९ किलोमिटर सडक कालोपत्रे गर्न शुरू गरिएको थियो। हाल भएको काम गुणस्तरहीन भएकाले फोहरका गाडी रोक्न बाध्य भएको स्थानीयबासी लालबहादुर बलामीले बताउनुभयो। कुनै स्थानमा दुई लेनको कालोपत्रे भएको छ, कहीं सडकसमेत छोपिएको छैन’, बलामीले भन्नुभयो– ‘ठूलोखोलादेखि प्रहरी चौकीसम्मको करिब ३ किलोमिटर सडकमा नाम मात्रको कालोपत्रे भएकाले विरोधमा उत्रिएका हौं।’

उहाँका अनुसार गुणस्तरीय काम नगरेको भन्दै यसअघि विभिन्नपटक जनप्रतिनिधि मार्फत ठेकेदारलाई सचेत गराउँदा सुनुवाइ भएको थिएन। काठमाडौं उपत्यकामा दैनिक उत्पादन हुने १ हजार ५ सय टन फोहोरको विसर्जन ओखरपौवास्थित सिसडोलमा गरिँदै आएको छ।