पत्रकारितामा अबको मिसन देश र जनता: सभामुख महरा

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
सभामुख कृष्णबहादुर महराले पत्रकारिताको मिसन देश र जनता हुनुपर्ने भएको बताउनुभएको छ। बुद्धभूमि मिडिया प्रालिले शुरू गरेको न्युज पोर्टलको उद्घाटन गर्नुहुँदै सभामुख महराले यस्तो बताउनुभएको हो।

‘पत्रकारिताको आ–आफ्नै मिसन हुन्छ,’ सभामुख महराले भन्नुभयो– ‘साँचो अर्थमा पत्रकारिता गर्ने हो भने तपाईंहरूले देश र जनतालाई नबिर्सिनुस्, त्यसमै देशको मिसन पूरा हुन्छ। अबको पत्रकारिताको मिसन पनि देश र जनता नै हुनुपर्दछ।’
अहिले अनलाइन मिडियाको मुख्य चुनौती विश्वसनीयता स्थापित गर्नु रहेको भन्दै सभामुख महराले मिडियाको विश्वसनीयता कति सत्य, तथ्य र निष्पक्ष हुन्छ, त्यसले नै निर्धारण गर्ने बताउनुभयो।

तपाईंहरू कति सत्य, तथ्य र निष्पक्ष हुनुहुन्छ, त्यसले नै तपाईंहरूको विश्वसनीयता निर्धारण गर्छ, उहाँले भन्नुभयो, निष्पक्ष भएर पत्रकारिता गर्नुभयो भने विश्वासिलो र मर्यादित हुनुहुन्छ।

आफूले १० वर्षअघि सञ्चारमन्त्री रहँदा पत्रकारिता क्षेत्रसँग नजिक रहेर काम गरेको चर्चा गर्दै सभामुख महराले नेपाली पत्रकारिताका चुनौती र अप्ठ्याराहरूसँग परिचित रहेको बताउनुभयो। पछिल्लो समय मिडियाको संख्या निकै बढेको भन्दै उहाँले अनलाइन मिडियाहरू झनै छ्यापछ्याप्ती भएकाले भीडको बीचमा आफ्नै छुट्टै पहिचान बनाउन रिपोर्ट नेपाललाई आग्रह गर्नुभयो।

गणतन्त्र दिवसकै दिन शुरू भएको अनलाइन मिडियाले गणतन्त्रको संस्थागत विकास गर्ने देशको मिसनलाई पूरा गर्न पनि आग्रह गर्नुभयो।

विगतमा राष्ट्रियताबिनाको लोकतन्त्र र लोकतन्त्रबिनाको राष्ट्रियता रहेको चर्चा गर्दै सभामुख महराले अहिले लोकतान्त्रिक गणतन्त्रमा राष्ट्रियता र लोकतन्त्र सँगसँगै रहेको बताउनुभयो।

‘विगतमा राष्ट्रियता थियो, लोकतन्त्र थिएन, लोकतन्त्र थियो राष्ट्रियता थिएन, केन्द्रमा राजा–महाराजा र अमूक शक्ति थियो,’ उहाँले भन्नुभया– ‘अहिले हामीले लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौं, लोकतन्त्र र राष्ट्रियताको केन्द्र नेपाली जनता बनेका छन्।’

लोकतान्त्रिक गणतन्त्रका निम्ति ठूलो संघर्ष र बलिदान भएको चर्चा गर्दै महराले जनताको शक्तिले मात्रै परिवर्तन सम्भव भएको बताउनुभयो।