कालिप्रसादलाई १ लाखसहित स्रष्टा सम्मान


गीतकार संघ नेपालले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय स्रष्टा सम्मान १ लाख १ हजार रुपियाँसहित यस वर्ष गीतकार कालिप्रसाद रिजाललाई प्रदान गर्ने भएको छ। संघले आप्mनो स्थापना दिवसको अवसर पारेर सोमबार यस वर्षको सम्मान पुरस्कार बारे जानकारी गराएको हो।

संघले गीतकार एवं फिल्म निर्देशक यादव खरेल, गायक एवं संगीतकार दीप श्रेष्ठ र संघका अध्यक्ष चुडामणि देवकोटाको छनोट समितिले गीतकार रिजाललाई यस वर्षको राष्ट्रिय स्रष्टा सम्मान प्रदान गर्ने निर्णय गरेको जनायो। यस वर्षबाट राष्ट्रिय स्रष्टा सम्मानको अगाडि गीतकार अमर वान्तवा राईको नाम जोड्दै अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०७४ प्रदान गरिने भएको छ।

गीतकार राईले गीतकार संघ नेपालको कोषमा १५ लाख रूपियाँ सहयोग गरी कोष वृद्धि गरिदिएकाले संघले सो निर्णय गरेको संघका अध्यक्ष चुडामणि देवकोटाले बताए।

त्यस्तै वर्ष गीत पुरस्कारअन्र्तगत उत्कृष्ट १० गीतको सूची पनि सार्वजनिक गरिएको छ। जसमा अम्बिका गुरुङ (आँखा लाउँछन्), किरण केसी क्रोधी (कुनै दिन यी दृष्टि), गणेश श्रेष्ठ (आफू उभिएको), नूतन भुसाल (सुटुक्कै मनमा), प्रकाश केसी (रगत पनि), पवित्रा राई (अभिनय गर्दै), वसन्तराज अज्ञात (सपनीमा घरी घरी), डा. राजुबाबु श्रेष्ठ (सम्पत्ति दिएँ), राजु थापा (भीरैमाथि) र सुमन बैरागी (प्रबासको पीडा) रहेका छन्।

वर्ष गीत पुरस्कारका लागि दर्ता भएका १ सय गीतबाट गीतसंगीतमा निरन्तरता, गुणस्तरीयता, सामाजिक स्वीकार्यसहितको योगदानलाई ध्यानमा राखेर उत्कृष्ट दश सार्वजनिक गरिएको अध्यक्ष देवकोटाले बताए। वर्ष गीत पुरस्कारको राशि ५१ हजार रुपियाँ रहेको छ। त्यसैगरी यस वर्षको डायस्पोरा गीतकार सम्मान ११ हजार रुपियाँसहित गीतकार राखी गौचनलाई प्रदान गरिने भएको छ।