महानिरीक्षक खनालबाट सीसीएससी तालिम उद्घाटन


नेपाल समाचारपत्र
काठमाडौं
राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सिसं २० गुल्मपति तथा स्टाफ तालिम (सीसीएससी) र सिसं १ प्रशासनिक व्यवस्थापन तालिम सञ्चालन भएको छ।सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबार सोही प्रतिष्ठानमा आयोजित एक समारोहका बीच उक्त दुवै तालिमको सयुंक्तरूपमा उद्घाटन गर्नुभयो।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यस अवसरमा सशस्त्र प्रहरी कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धिका लागि पेशागत तालिम अपरिहार्य रहेको चर्चा गर्नुहुँदै यस्ता तालिमले सशस्त्र प्रहरी कर्मचारीलाई चुस्त, दुरुस्त र दक्ष बनाउनुका साथै उनीहरूको वृत्तिविकासमा समेत महŒवपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

उहाँले कुनै पनि संगठनको दक्षता र प्रभावकारिता त्यस संगठनमा कार्यरत मानव संसाधनको सीप र क्षमतामा निर्भर हुने चर्चा गर्नुहुँदै कार्यक्षेत्रमा आईपर्ने सुरक्षा तथा चुनौतीको सामना गर्न तालिमको विशेष महŒव रहने उल्लेख गर्नुभयो।
कार्यक्रममा सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले स्वागत मन्तव्यको क्रममा राज्यले सुम्पिएका जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्नसक्ने कुशल अधिकृत उत्पादन गर्ने उद्देश्यका साथ सो प्रतिष्ठानले विभिन्न व्यावसायिक तालिम सञ्चालन गर्दै आइरहेको उल्लेख गर्नुभयो।

उहाँले संगठनको नीतिअनुरूप व्यावसायिक तालिम समयानुकूल, प्रभावकारी एवं वैज्ञानिक ढंगबाट सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। १२ हप्ताको गुल्मपति तथा स्टाफ तालिममा सशस्त्र प्रहरी नायब उपरीक्षक ३ जना तथा सशस्त्र प्रहरी निरीक्षक २७ जना र राष्ट्रिय अनुसन्धान विभागका १ जना अधिकृत गरी कुल ३१ जना प्रशिक्षार्थी सहभागी रहेका छन्। यसैगरी ४ हप्ताको प्रशासनिक व्यवस्थापन तालिममा २० जना सशस्त्र प्रहरी निरीक्षकको सहभागिता रहेको छ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसी, नारायणबाबु थापा, रामशरण पौडेल, सुबोधकुमार अधिकारी, निराकारम विक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठलगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतको उपस्थिति रहेको थियो।