मिर्गौैला प्रत्यारोपण गराउनेलाई कडा कारबाही गर्न अस्पतालको माग


पुष्कर बुढाथोकी, भक्तपुर

सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले एक युवकबाट मिर्गौला झिकिएको र प्रत्यारोपण गरिएको घटनामा केन्द्रको कुनै संलग्नता नरहेको जानकारी दिएको छ। ती युवकलाई डर, धम्की दिँदै, झुक्याई प्रलोभनमा पारेर मिर्गौला झिकिएको र प्रत्यारोपण गरिएको घटना सार्वजनिक भएपछि केन्द्रको यस्तो प्रतिक्रिया आएको हो।

केन्द्रले आज आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका नेफ्रोलोजिस्ट डा. कल्पना श्रेष्ठले यो घटनामा अस्पतालको कुनै दोष नभएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘वडा कार्यालयदेखि नै नाता प्रमाणित गरेर सबै प्रक्रिया र कागजपत्र मिलाएर ल्याइएको छ। अप्रेसन हुनुभन्दा अगाडि पनि दातालाई अन्तिम पटक सोध्ने गरिन्छ। यसमा अस्पतालको तर्फबाट कुनै कमजोरी भएको छैन।’

पत्रकारलाई मिर्गौला प्रत्यारोपण गर्दा थर्कबहादुर बस्नेत र उहाँका छोरा आशिषले पेश गरेको नाता प्रमाणित, शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रलगायतका कागज देखाउँदै उहाँले अस्पतालको तर्फबाट कुनै कमजोरी नभएको बताउनुभयो।

काभ्रेपलाञ्चोक साविक टुकुचा गाविस वडा नं. ९ घर भई हाल बनेपा नपा–२ बस्ने वर्ष २९ को कुमार गिरीको मिर्गौला झिकेर प्रत्यारोपण गरिएको सन्दर्भमा केन्द्रले यस्ता व्यक्तिलाई कडा कारबाही गर्न माग गरेको छ। गत वैशाख १० गते भक्तपुरस्थित केन्द्रमा गिरीको मिर्गौला झिकेर कानेपोखरी गाउँपालिका–१ मोरङ स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१ सल्लाघारीमा डेरा गरी बस्ने वर्ष ५१ को थर्कबहादुर बस्नेतलाई प्रत्यारोपण गरिएको थियो।

पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. पुरकारचन्द्र श्रेष्ठले प्रक्रियागतरूपमा सम्पूर्ण कागज मिलाएर सरकारले व्यवस्था गरेअनुसार गठन भएको प्रत्यारोपण स्वीकृति समितिले गरेको अन्तिम सिफारिसको आधारमा केन्द्रले मिर्गौला प्रत्यारोपण गरेको बताउनुभयो। उहाँले नक्कली कागज बनाएर अस्पताल र प्रशासनलाई समेत झुक्याउने गिरोहलाई कडा कारबाही हुनुपर्ने माग गर्नुभयो।
डा. श्रेष्ठले भन्नुभयो– ‘घटनाको सूक्ष्मरूपमा गहिराइमा गएर अनुसन्धान होस्। हामी अनुसन्धानमा सघाउन तयार छांै। पछिका दिनमा यस्ता घटना नदोहोरियोस् त्यसैले घटनाका दोषीलाई कडा कारबाही होस्।’

केन्द्रका कानुनी सल्लाहकार कुमुद भट्टराईले मिर्गौला प्रत्यारोण गर्नुअगाडि नै प्रत्यारोपण स्वीकृति समितिले सबै कागजपत्र हेरेर शंकास्पद देखिएको हकमा सम्बन्धित स्थानीय तह र जिल्ला प्रशासनमा थप प्रमाणीकरणका लागि पत्र पठाउने गरिएको बताउँदै सबै प्रक्रिया पु¥याएपछि मात्रै मिर्गौला झिक्ने गरिने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘मिर्गौला दान गर्ने दातालाई मिर्गौला झिक्नका लागि शल्यक्रिया गर्नु अगाडिसम्म सोध्ने परम्परा रहेको छ। यस घटनामा पनि कुमारले मै आशिष हुँ। म थर्कमानकै छोरा हुँ। मिर्गौला दान गर्न म राजी छु भनेपछि मात्रै शल्यक्रिया गरिएको हो।’ सबै कागजमा पीडित कुमारले आफंैले सनाखत गरेको उहाँको भनाइ छ।

नाता प्रमाणितमा वडा कार्यालयले नै पीडित कुमारको तस्वीर राखेको र त्यसमा नाम भने आशिषको राखेर प्रमाणीकरण गरेको पाइएको छ। अन्य कागजमा समेत त्यसैगरी मिलाइएको पाइएको छ तर स्थानीय तहको लेटरप्याड, छाप प्रयोग गरिएकाले ती कागज सक्कली हुन् या नक्कली भन्नेबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ।

बाबुको मिर्गौला प्रत्यारोपण गर्न थर्कबहादुरका छोरा आशिष बस्नेतले मिर्गाैला खोजी गर्ने क्रममा काभ्रे टुकुचाकै डल्लुराज गिरी र लालचन्द्र गिरीसँग भेट गरी योजना बनाएको पाइएको छ। सञ्चारकर्मीलाई घटनाबारे जानकारी दिँदै पीडित कुमारले भने– ‘म बाटोमा हिँड्दै गर्दा थर्कमानका छोरा आशिषले जबरजस्ती मोटरसाइकलमा हालेर ल्याए। डर, त्रास दिँदै धम्क्याएर मेरो पत्थरी भएको छ, अप्रेसन गर्नुपर्छ भन्दै तर्साएर मिर्गौला झिकेका हुन्। मिर्गौला झिकेपछि उल्टै मलाई तेरो उपचारमा ८ लाख खर्च भयो। पैसा तिर भनेर तर्साएर बाटोमा लगेर छाडिदिए।’

मिर्गौला झिकेपछि पनि १ साता अस्पताल राखेपछि बस्नेतले थप केही दिन आफ्नै कोठामा राखी पछि अब काम सकियो भन्दै काठमाडौं सीतापाइलास्थित कुमारको फुपू शारदा गिरीको घरनजिकै लगेर छाडिदिएपछि फुपूको घरमा पुगेका कुमारले नुहाउँदा पेट चिरिएको देखेपछि घटना सार्वजनिक भएको थियो।

गिरोहमा संलग्न रहेका भनिएका आशिष, डल्लुराज र लालचन्द्र भने फरार रहेकाले खोजि भइरहेको प्रहरीको भनाइ छ। कुमारले मानसिक रोगको औषधि सेवन गरिरहेको र गिरोहले परिवारसँग सधैं नबस्ने कुमारको मिर्गौला झिक्दा कसैलाई थाहा नहुने भन्दै योजना बनाएको पीडितका बुबा भोलानाथ गिरीले जानकारी दिनुभयो।