पहिलोपटक ‘छुई’ दिवस मनाइँदै


भगवती तिमल्सिना, काठमाडौं
नेपालमा पहिलोपटक आज मे २८ देखि नछुने वा छुई (महिनावारी) दिवस मनाइँदै छ। यो दिवस खानेपानी मन्त्रालयको आयोजनामा मनाउन लागिएको हो। महिनावारी वास युनाइटेड जर्मनीद्वारा गरिएको एक अनुसन्धानका आधारमा महिलाको महिनावारी हुँदा ५ दिनसम्म रक्तश्राव भई २८ दिनमा पुनः महिनावारी चक्र हुने भएकाले मे २८ का दिन यो दिवस मनाउन लागिएको हो।

यही आधारमा नेपालमा पनि यसै वर्षदेखि यो दिवस मनाउने निर्णय गरिएको खानेपानी मन्त्रालयद्वारा गठित मूल समारोह समितिका सदस्य–सचिव गुणराज श्रेष्ठले जानकारी दिनुभयो। महिनावारीको समयमा सरसफाइमा ध्यान नदिँदा स्वास्थ्य समस्या देखापरी यसैबाट सक्रमण भएर ज्यानै जाने हुनाले जनचेतना बढाउन यो दिवस मनाउन लागिएको युनिसेफका वास स्पेसलिस्ट शिद्धि श्रेष्ठले जानकारी दिनुभयो।

अभियन्ता राधा पौडेलका अनुसार यस्तो बेला छाउगोठमा राख्ने, छुन हुन्न भन्ने र महिलालाई मानसिक रूपमा समेत नकारात्मक प्रभाव पार्ने गतिविधि गर्ने, आराम, नगर्ने र खानपान ध्यान नदिने जस्ता कार्यलाई न्यूनीकरण गराउन यो दिवस मनाउन लागिएको हो। यसै अवसरमा आज सोमबार राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा कलाकार, विद्यार्थी, शिक्षक शिक्षिका, विभिन्न मन्त्रालयका प्रतिनिधिलगायत ५ सयभन्दा बढी व्यक्तिको सहभागीता रहने बताइएको छ।

कार्यक्रममा शिक्षा, स्वास्थ्य, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र महिनावारीका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाको सहभागिता रहनेछ।