फेवातालबाट चार पर्यटकको उद्धार


पोखरा, (नेस)
फेवातालमा हावाहुरी तथा चट्याङ्को कारण अलपत्र परेका ४ जना आन्तरिक पर्यटकलाई सुरक्षा निकायले सकुशल उद्धार गरेको छ। हावाहुरी तथा चट्याङका कारण फेवातालमा अलपत्र परेका उनीहरूको उद्धारमा सशस्त्र प्रहरी बल नेपाल कालिका गण मालेपाटन पोखराबाट फेवाताल टावर सुरक्षार्थ खटिएको एपीएफ टोली खटिएको थियो।

डुंगा भाडामा लिई फेवातालमा बोटिङ गरिरहेको अवस्थामा एक्कासि आएको हावाहुरी, वर्षा र चट्याङको कारण डुंगा अनियन्त्रित भई अलपत्र परेको अवस्थामा एपीएफ टोलीले तत्कालै चार जनाको सकुशल उद्वार गरेको हो। सो घटनामा हराइरहेका रामेछापका सुप्रिम लामाको एपीएफ टोलीले व्यापक रूपमा खोजीकार्य गरिरहेको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक गौतमराज कुँवरको कमान्डमा खटिएको एपीएफ टोलीले उनीहरूलाई मोटरबोटको सहायताले उद्धार गरेको होे। हराइरहेका व्यक्तिको खोजीकार्यका लागि सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोली परिचालन गरिएको छ। जीवितै उद्धार गरिएकाहरूमा सिन्धुलीका विशाल थापा, काठमाडौंका अनिल रोक्का, भक्तपुरका मन्दीप महत र सुशील कुँवर रहेका छन्।